१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पौवाः चित्रकार प्रेममान रहेनन्, आइतबार नै अन्त्येष्टि गरियो


0
Shares

काठमाडौं । वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षका उमेरमा आइतबार निधन भएको छ । उहाँ पौवाः चित्रकारका रुपमा प्रख्यात हुनुहुन्थ्यो ।

नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उहाँको आइतबार अपरान्ह १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

उच्चकोटिको पौभाः लेखनमा सिद्धहस्त चित्रकार नेपाल भाषाका गीतकार पनि हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसैबीच प्रतिष्ठानले शोक वक्तव्य जारी गरी उहाँका निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उहाँप्रति श्रद्घाञ्जली अर्पण गरेको छ ।

वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको छ ।

उहाँको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उहाँले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।