१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


रुम्जाटारमा कोदो रोप्दा गाइने पर्मेली गीत लोप हुने अवस्थामा (भिडियो)


52
Shares

-शुभकला राई/ईमेज
ओखलढुंगा । कोदो रोप्दा गाइने पर्मेली गीतले कुनैबेला ओखलढुंगाको रुम्जाटार घन्किथ्यो ।

गीत गाउँदै साउने झरीमा अर्मपर्म गर्दै काम गर्नुको मजै बेग्लै थियो ।

एकदशक अघिसम्म रूम्जाटारमा घन्किने पर्मेली गीत र पर्म लगाउने परम्परा विस्तारै हराउन थालेको छ ।

आधुनिक गीत संगीतले बजार पिट्न थालेपछि रुम्जाटारमा कोदो रोप्दै पर्मेली गीत गाउने परम्परा लोप हुँदै जान थालेको हो ।

समय परिवर्तनसँगै रूम्जाटारका बस्ती रित्तिँदै गएपछि माइती र चेलीको सम्बन्ध जोड्दै आएको पुरानो पर्म लगाउने परम्परा हराउँदै गएको हो ।

रूम्जाटार गुरूङ समुदायको बाहुल्यता भएको क्षेत्र हो । समथर टारको रूपमा रहेको रूम्जाटार जिल्लाकै कोदो उत्पादनका लागि गनिएको क्षेत्र हो ।

यहाँ कुनैबेला कोदो रोप्दाको रमाइलो नै बेग्लै हुन्थ्यो । कोदो रोप्नका लागि जुटेका माइती र चेलीको हुलले साउन महिनामा रूम्जाटारका मसथर चउरहरुमा कोदोबारीले ढाकेको हुन्थ्यो ।

बाँसुरी, मादल, बच्छेबाजालगायतका बाजा बजाएर मेलामा पर्मेली गीत गाउँदा ठूलै चाँडको झल्को गराउथ्यो ।

रूम्जाटारमा कोदो रोपाइँ सुरू भएपनि आजभोलि पर्मेली हूल देखिन छाडेका छन् । माइती र चेली जुटेर एकअर्कामा पर्म लगाउँदै पर्मेली गीत गाउने रूम्जाटारको मौलिक विशेषता हो ।

चेलीले कोशेली दिएपछि माइती पर्म लगाउन तयार हुने र माइतीको समेत रोपाइँ सकेपछि अन्त्यमा भोज खाएर कोदो रोपाइँ समापन गर्ने चलन छ ।

तर, अहिले बजारमा निस्किएका थरिथरिका आधुनिक गीत संगीतले नयाँ पुस्तालाई ध्यान खिच्न थालेपछि त्यसको असर पर्मेली गीतमा पनि परेको छ ।

रूम्जाटारका स्थानीयहरु रोजीरोेटीका लागि बाह्य क्षेत्रमा बस्नेक्रम बढेसँगै पर्म लगाउने परम्परा पनि प्रभावित भएको छ ।

यहाँको पहिचान बोकेको पर्मेली गीत र पर्म लगाउने परम्परा हराउन थालेकोप्रति बुढापाकाहरू भने चिन्तित छन् ।

त्यसैले पनि यस्ता संस्कृति र कला बोकेका गाउँघरका गहनाको संरक्षण गर्नु पर्ने देखिन्छ ।

भिडियो