चितवन । चितवनको रत्ननगर नगरपालिकाले ‘खरमुक्त नगर’ बनाउने अभियान सुरु गरेपछि स्थानीय खुसी भएका छन् ।
आर्थिक विपन्नताका कारण खरको छानामुनी कष्टकर जीवन बिताइरहेका नागरिकलाई नगरपालिकाले जस्तापाता वितरण गर्न सुरु गरेको हो ।
चितवनको पूर्वी क्षेत्रमा पर्ने रत्ननगर नगरपालिकाले अति विपन्न नगरवासीलाई लक्षित गरी खरको घरमुक्त नगर बनाउने अभियान थालेको छ ।
आर्थिक अभावकै कारण खरको झुपडीमा बस्न बाध्य भएकाहरुलाई जस्तापाता वितरण गरिएको हो ।
खरको झुपडीमा पानी र हावाहुरी आउँदा छिमेकीको शरण लिनुपर्ने बाध्यता रहेको स्थानीय सरिता विकको भनाइ छ ।
रत्ननगरभित्र रहेका करिब २ सय ७५ वटा खरले छाएको घरमा जस्तापाता लगाउन नगरपालिका जुटेको छ ।
पहिलो चरणमा चालू आर्थिक वर्षभित्रै १ सय ४७ वटा घरपरिवारलाई जस्ता वितरण गर्ने लक्ष्यअनुसार मंगलबारबाट अभियान सुरु भएको छ ।
खरको छानो प्रत्येक वर्ष मर्मत गरिरहनुपर्ने साथै पानी चुहिने र हावाले उडाउने हुँदा स्थानीयहरु आजित बनेका छन् ।
स्थानीयलाई सुरक्षित बासको व्यवस्था गर्ने उद्देश्यले नगरपालिकाले जस्तापाता वितरण गर्न लागेको नगरप्रमुख नारायण वन बताउँछन् ।
आर्थिक रुपले अति विपन्नहरुलाई मात्रै जस्तापाता वितरण गर्ने र प्रत्येक परिवारलाई आवश्यकताअनुसार दुई बण्डल जस्ता प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
नरपालिकाको यो अभियानले विपन्न परिवारलाई स्थानीय सरकारको सकारात्मक अनुभूती भएको छ ।










प्रतिक्रिया दिनुहोस्