
खस्यौली । आजकल पूँजी बजारलाई योगसँग जोडेर हेर्न थालिएको छ ।
पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकतामा शेयर बजारलाई योगसँग जोडिएको पूँजी बजारका लगानीकर्ताले बताएका छन् ।
“बजारले केहीमा तनाव सिर्जना भएको र केहीको मृत्युसमेत भएकाले बजारमा छिर्नुअघि ‘मेडिटेशन’ र योगसँगको निकटता बढ्न थालेको छ”, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक फुलप्रसाद सुवेदीले भने ।
सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीको सहकार्यमा सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले बुटवलमा आयोजना गरेको शेयर तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा उनले योगाभ्यास गराउँदै बजारमा जानुअघि ‘मेडिटेशन’ले बजारको रणनीति र व्यवहारलाई नजीकबाट नियाल्न सकिने उल्लेख गरे ।
“हामी बजार बढ्दा उत्साहित देखिन्छौं तर बजार घट्दा निरुत्साहित हुन्छौँ”, उपप्राध्यापक सुवेदीले भने ।
योगाभ्यास मनसँग सम्बन्धित भएकाले स्वच्छता र स्थिरतासँग पनि सम्बन्धित भएकामा जोड दिँदै उनले जीवनलाई व्यवस्थित गर्ने ज्ञान सूत्रका रुपमा योगलाई लिन सकिने बताए ।
शेयर बजारमा आउने निराशा हटाउन र बजारको प्रवृत्तिको गहिरो विश्लेषण गर्ने क्षमताको विकासमा समेत योग र ‘मेडिटेशन’ले सहयोग पुर्याउने बताइएको छ ।
योगले जीवनशैलीलाई व्यवस्थित बनाउनाले बजारमा दीर्घकालीन लगानीको सकारात्मक सोच निर्माण हुन्छ र त्यसले नाफा गर्ने अवसर निर्माण हुने विश्वास छ ।
सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका प्रबन्ध निर्देशक माधव पाण्डेले प्रदेशमा धितोपत्र बोर्डको उपस्थिति नभएको र कार्यक्रम पनि केही नभएकाले देश सङ्घीयतामा गए पनि शेयर बजार सङ्घीयतामा जान नसकेको बताए ।
उनले लगानीकर्ता तनावमा हुने भएकाले योगाभ्यास र ‘मेडिटेशन’ सँगको विषय प्राथमिकतामा परेको उल्लेख गर्दै पाका लगानीकर्ताको अभाव पनि बजारमा देखिएको बताए ।
“बैंक प्रदेशस्तरमा व्यवस्थित हुन लागेका छन् तर धितोपत्र बोर्डको विषयमा जानकारी छैन”, उनले भने ।
केही वर्षकै अवधिमा बुटवलमा पाँच ब्रोकर कार्यालय स्थापना भए पनि वित्तीय साक्षरता वा शेयर शिक्षासम्बन्धी कार्यक्रम आउन नसकेको बताइएको छ ।
बुटवलका लगानीकर्ता कृष्ण पौडेलले बजारको अध्ययन र विश्लेषण गर्ने क्षमताको विकास हन आवश्यक भएकामा जोड दिँदै शेयर शिक्षालाई योगसँग जोड्न आवश्यक भएको बताए ।
पूँजी बजारको ‘हब’का रुपमा विकास हुन लागेको प्रदेश नं ५ मा कूल नौ ब्रोकर (दलाल) कार्यालय छन् ।
तीमध्ये पाँच बुटवलमा, एक भैरहवा, एक दाङ र दुई नेपालगञ्जमा छन । बुटवलका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हुँदैआएको छ । रासस
प्रतिक्रिया दिनुहोस्