प्रदीप पौडेल (इमेज)
पोखरा, जेठ २५ । गन्डकी प्रदेश सरकारले अधिकांश पुरानै कार्यक्रमलाई समेटेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले दोस्रोपटक सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा भने चुनौती छ ।
गन्डकी प्रदेश सरकारले पर्यटन, ऊर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धिको प्रमुख आधार मानेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रदेशप्रमुख बाबुराम कुँवरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पर्यटनबाटै प्रदेशको समृद्धि हासिल गर्ने उद्घोष गरिएको छ ।
सरकारले पदमार्ग, सडकमार्ग र हवाईमार्गको स्तरोन्नति गर्ने नीति अवलम्बन गरेको छ ।
ऊर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धिको प्रमुख आधार मानेर सोहीअनुसार नीति तथा कार्यक्रम बनाइएको छ ।
विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्ने, तीन वर्षभित्र मुख्य कृषिमा आत्मनिर्भर हुने, पोखरा चक्रपथ र उत्तर–दक्षिण कोरिडोर निर्माणलाई प्राथमिकताका साथ अघि सारिएको छ ।
एक वर्षभित्रै प्रदेशका सबै घरमा धारा पुर्याउने, दुई वर्षमा आवश्यक सबै ठाउँमा झोलुंगेपुल बनाइसक्ने, प्रत्येक स्थानीय तहका औद्योगिक क्षेत्र स्थापना, एक स्थानीय तह एक उत्पादन र गन्डकी विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य छ ।
मनाङ, मुस्ताङ र उत्तरी गोरखालाई फिल्मसिटी र स्याउ पकेट क्षेत्र बनाउने, पोखरा–काठमाडौं–लुम्बिनीलाई गौतमबुद्ध स्वर्णिम त्रिकोणकारुपमा विकास गरिने भएको छ भने एक घर एक सदस्य हुनेगरी सहकारी संस्थाको विस्तार गर्ने सरकारको नीति छ ।
तर, सरकारको नीति कार्यान्वयन हुनेमा भने सरोकारवालाले आशंका व्यक्त गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले पुरानै नीति तथा कार्यक्रममा भाषिक हेरफेर गरेर नयाँ बनाइएको प्रतिक्रिया दिए ।
उनले चालू आर्थिक वर्षकै नीति तथा कार्यक्रम लागू नभएकाले नयाँ नीति पनि लागू हुन नसक्ने बताए ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने नीति तथा कार्यक्रम व्यावहारिक भएको र सोहीअनुसारको बजेट विनियोजन गरिने बताए ।








प्रतिक्रिया दिनुहोस्