
काठमाडौं, जेठ २३ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट नअल्मलिएको र स्पस्ट रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले संविधानको व्यवस्थाअनुसार मौलिक हक कार्यान्वयनमा बजेटकेन्द्रित रहेको बताए ।
उनले वित्तीय संघीयता कार्यान्वयन गर्नेरुपमा बजेट आएको भन्दै वित्तीय संघीयतालाई आर्थिक वृद्धिको जग मानिएको बताए ।
मन्त्री खतिवडाले सबै चालू खर्च साधारण खर्च नभएको पनि बताए । सबै चालू खर्च उपभोग खर्च हो भनेर बुझ्न नहुने भन्दै उनले सबै चालू खर्चमा विनियोजन गरिने बजेट पुँजीगत खर्चकारुपमासमेत खर्च हुने गरेको बताए ।
पुँजीगत खर्च गर्न नसक्ने इतिहास बनिसकेको भन्दै आगामी वर्षका लागि विनियोजन गरिएको पुँजीगत खर्च हुनसक्नेमा भने अर्थमन्त्री खतिवडा आफैंले पनि आशंका व्यक्त गरे ।
स्थानीय अवरोध, निर्माण कम्पनी एवं सरकारकै कतिपय गतिविधिका कारण अनुमान गरिएको पुँजीगत खर्च हुन नसक्ने विगतका वर्षले देखाएको उनले बताए ।
९० प्रतिशतमाथि पुँजीगत खर्च गर्नसकियो भने त्यो उपलब्धिमूलक हुने उनले बताए ।
मन्त्री खतिवडाले सेवा व्यापार बढाएर वस्तु व्यापारको घाटा पूर्ति गर्ने प्रयास गरिने बताए ।
स्वास्थ्य र शिक्षा सेवाको निर्यात गरेर पनि व्यापार घाटा कम गर्नसकिने उनको भनाइ छ ।
मन्त्री खतिवडाले कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत वैदेशिक ऋणको भार रहेको भन्दै आगामी वर्ष ३१ प्रतिशत पुग्ने बताए ।
कुनै समय ६८ प्रतिशत वैदेशिक ऋणको भार रहेकोसमेत उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्