२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


नेपालको अर्थतन्त्र विस्तार हुँदै गएको विश्व बैंकको ठहर


0
Shares

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ७ दशमलब १ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आज नेपालको अर्थतन्त्रको प्रतिवेदन काठमाडौंमा सार्वजनिक गर्दै सेवा र कृषि क्षेत्रमा आउने सुधारका कारण आर्थिक वृद्धि ७ दशमलब १ प्रतिशत हुने जनाएको हो ।

यस वर्ष सेवा र कृषि क्षेत्रतर्फको वृद्धिदर ७ दशमलब ५ प्रतिशत हुने अनुमान विश्व बैंकको छ ।

विश्व बैंकले दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न सक्ने संभावना रहेको समेत जनाएको छ ।

तर त्यसका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको न्यूनतम मापदण्ड प्राप्त हुनुपर्ने उल्लेख छ ।

४ दशमलब १ प्रतिशतको मूल्यवृद्धि हुने अनुमान गरेको बैंकले कमजोर सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद यो आर्थिक बृद्धि हासिल गर्ने प्रक्षेपण गरेको हो ।

पर्यटकको संख्यामा आएको वद्धि, निजी लगानीमा भएको विस्तार एवं विद्युत आपूर्तिमा भएको सहजताले नेपालको अर्थतन्त्रले गति लिएको प्रतिवेदनमा औल्याइएको छ । अर्थतन्त्रले लय समातेको ठहर बैंकले गरेको छ ।

बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले कमजोर निर्यात एवं कमजोर प्रतिस्पर्धी बजार नेपाली अर्थतन्त्रको जोखिम रहेको बताए ।

बैंकले नेपालसँग भएको क्षमताको समयमै पहिचान गर्दै भरपूर उपयोग गर्न सुझाव दिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिवेदनले औल्याएका सुझाव र प्रक्षेपणको स्वागत गर्दै संघीयता संस्थागत गर्ने चुनौती रहेको बताए ।

उनले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत सुधार गर्दै आएको बताए ।