
काठमाडौं । गायिका सोफिया थापाले एउटा गीतका कारण धम्की र दबाब सहनु परेको छ ।
‘अबको तीज नो ब्रत प्लिज’ बोलको तीज गीतले उनलाई चर्चा मात्र दिएन मानसिक तनाव पनि दिएको छ ।
गीतको शब्दलाई लिएर विवाद भएपछि हाइलाइट्स नेपालले बुधवार गीतको भिडियोलाई ‘प्राइभेट’ मा राखिदिएको छ ।
गीतले तीजको मर्म र हिन्दू महिलाहरुको आस्थामा ठेस पुर्याएको भन्दै गायिका सोफियालाई यूट्युबबाट गीत हटाउन विभिन्न धार्मिक संगठनहरुले धम्की र दबाब दिएका थिए ।
गीत हटाउन धम्की आएको भन्दै गायिका थापाले प्रहरीमा उजुरी पनि दिएकी थिइन् । ज्यान मार्ने धम्की पनि आएको सोफियाले बताएकी छिन् । उनले कुनै गल्ती नगरेकाले गीतलाई युट्युबबाट नहटाउने आग्रह गरेकी थिइन ।
हिन्दू जागरण नेपालले हाइलाइट्स नेपाललाई पत्रचार गर्दै उक्त गीत हटाउन आग्रह गरेको थियो ।
संस्थाले बुधवार गीत धर्म सम्बन्धि कानून विरुद्ध भएकाले भिडियो यूट्युबबाट हटाउन आग्रह गर्दै हाइलाइट्स नेपाललाई पत्र पठाएको थियो ।
तीजमा व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखायौं भन्दै गीत ल्याएकी सोफिया विवादमा आएकी हुन ।
उनले दर नखाने, रंगीविरंगी चुरा, सारी, गहना नलगाउन पनि यो गीतमा आह्वान गरेकी छन् ।
तीजमा व्रत बस्नु सांस्कृतिक मात्र नभएर वैज्ञानिक कारणसमेत भएको बताउने महिलादेखि हिन्दूवादी संस्थाहरूले उनको यो गीतको अहिले विरोध गरेका छन् । तीज संस्कृतिमाथि प्रहार गरेको भन्दै उनको गीतको विरोध भएको हो ।
प्रतिक्रिया दिनुहोस्