Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


‘रमजानका कारण वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी’


0
Shares

काठमाडौं, जेठ २१ । वैदेशिक रोजगार व्यवसायीहरुले मलेसियाको रोजगारी नखुलाइएको र व्यवसायीको धरौटी रकम धेरै बढाइएको भन्दै आन्दोलन गर्दै आएका छन् ।

यीसहितका आफ्ना ६ बुँदे माग पूरा गराउन दबाब दिन वैदेशिक रोजगार व्यवसायी संघले खाडी मुलुकहरु साउदी अरब, कतार, बहराइनलगायतका मुलुकहरुमा रोजगारीमा जानेहरुको उडान रद्द गर्दा रोजगारीमा जानेहरु मर्कामा परेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघले यही जेठ २३ गतेसम्म आन्दोलन जारी रहने जनाएको छ ।

यता, सरकारले भने व्यवसायीको आन्दोलन र अवरोधका कारण नभइ रमजानका कारण रोजगारीमा जानेहरुको संख्यामा कमी आएको जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले व्यवसायीको आन्दोलनले नभइ रमजानका कारण यस अवधिमा रोजगारीमा जानेको संख्यामा कमी आएको बताए ।

उनले अघिल्लो वर्ष रमजानको समयमा २३ हजार ६ जना गएकामा यस वर्ष २० हजार ५९४ जना वैदेशिक रोजगारीमा गएको जानकारी दिए ।

प्रक्रियामा आएकाहरु वैदेशिक रोजगारीमा गइरहेको पनि विभागले जनाएको छ ।

तर, संस्थागतरुपमा वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा भने कमी आएको देखिन्छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ मलेसियासँग गरेको सम्झौताअनुसार कामदार पठाउन पाउनुपर्ने र आफ्ना माग सम्बोधन गरिनुपर्ने बताउँछन् ।

सरकारले व्यवसायीहरुका माग पूरा नगरे वैदेशिक रोजगारीको अवसर नै गुम्ने दाबी व्यवसायीहरुले गर्दै आएका छन् ।