
काठमाडौं, जेठ २० । उद्योगी–व्यवसायीले बारास्थित ‘सिमरा गार्मेन्ट प्रोसेसिङ जोन’मा उद्योग स्थापनाका लागि निश्चित अवधिसम्म निःशुल्क भाडा दिन माग गरेका छन् ।
व्यवसायीको विभिन्न मागका कारण विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योग स्थापनाका लागि आवेदन माग गरेपनि पहिलोपटक एउटा पनि आवेदन परेको छैन ।
नेपाल आर्थिक पत्रकार समाजले सोमबार राजधानीमा गरेको सिमरा गार्मेन्ट प्रोसेसिङ जोनको प्रयोगसम्बन्धी छलफलमा व्यवसायीले यस्तो माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति अन्जन श्रेष्ठले निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको जोनमा उद्योगी–व्यवसायीलाई प्रतिस्पर्धी बनाउन निश्चित अवधिसम्म भाडा निःशुल्क दिनुपर्ने बताए ।
सरकारले हाल प्रतिवर्गमिटर २० रुपैयाँका दरले भाडा निर्धारण गरेको छ ।
केही व्यवसायीले भने भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ हुनुपर्ने माग पनि गरेका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सिमरा गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योग स्थापनाका लागि आवेदन माग गर्दा पहिलो चरणमा एउटा पनि आवेदन नपरेको बताए ।
व्यवसायीको माग सम्बोधन गरिरहेको भन्दै उनले जोनमा स्थापना हुने उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने र ४० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्न पाउने व्यवस्था रहेको बताए ।
यसअघि, उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था थियो ।
नेपाल तयारी पोसाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले कच्चापदार्थ आयात गरेर उद्योग चलाउन नसकिने भन्दै आन्तरिकरुपमा कच्चापदार्थको उत्पादनमा जोड दिए ।
अर्थविद् डा. शंकर शर्माले भैरहवाको विशेष आर्थिक क्षेत्र र सिमराको गार्मेन्ट प्रोसेसिङ जोन सन्चालनमा ल्याउन सरकार र निजी क्षेत्रबीच सहमति आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्