पोखरा, जेठ १९ । सरकारले प्रतिवद्धता पालना नगरी एकलौटी ढंगले बजेट बाँडेको आरोप लगाउँदै नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
बर्खे अधिवेशनको सुरुमै विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बुँदागत रुपमा केही प्रश्नको जवाफ खोजेका थिए । तर, सरकारले त्यसतर्फ चासो नदिएको भन्दै कांग्रेसले आइतबारको बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले चालू वर्षको बजेटको जवाफ मागेको छ भने आगामी बजेटका लागि पनि सुझाव दिएको छ । जवाफ र सुझावको ग्यारेण्टी नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।
बजेट खर्च गर्ने कार्यविधि बनाउँदा विपक्षी दललाई सहभागी नगराएको, सबै सांसदलाई कम्तीमा एउटा कार्यक्रम दिने प्रतिबद्धता जनाए पनि अहिले आफूखुशी कार्यकर्तालाई बजेट दिएको कांग्रेसको आरोप छ ।
अनुदानको नाममा हचुवाको भरमा बजेट वितरण गरिएको, सदनमा छलफल नगरी आफूखुशी विवादित योजना सार्वजनिक गरेको आरोप प्रदेशसभामा विपक्षी दलका नेता नेपालीले बताए । ‘अघिल्लो वर्ष रेड लाइट एरियाको कुरा आयो । हामीले सदनबाटै विरोध ग¥यौं,’ उनले भने, ‘अहिले फेरि इञ्जोय जोनका कुरा चलिरहेका छन् ।’
उपभोक्ता समिति गठनमा पनि सरकारले एकाधिकार गरेको आरोप कांग्रेसले लगाएको छ । गण्डकी सरकारले आउँदो वर्षदेखि निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा प्रत्येक सांसदलाई ३ करोड रुपैयाँ दिने तयारी गरेको छ । यो बजेटमा समानुपातिक र प्रत्यक्ष भनेर विभेद गर्न नहुने कांग्रेसको अडान छ ।
संसदीय परम्परा अनुसार एकजना मात्रै सांसद संसद बैठक चल्दा उठ्यो भने बैठक स्वतः रोकिने छ । यसको ठ्याक्कै कानुनी ब्यवस्था छैन । तर परम्परा देखि नै यस्तै चल्दै आईरहेको छ ।
आइतबारको बैठकमा पनि त्यही भयो । नेपाली कांग्रेस तर्फका सांसदहरु बैठक चल्ने बित्तिकै उभिए । सभामुखले दुई मिनेटसम्म बस्न आग्रह गरे । सांसदहरु नबसेपछि एकैचोटी सदन स्थगीत गरिदिए ।
परम्परा अनुसार बैठकमा कसैले विरोध जनायो भने उसका बिचार राख्न दिनुपर्छ । तर आइतबारको बैठकमा सभामुखले विपक्षी दललाई बोल्ने अवसर नै दिएनन् ।








प्रतिक्रिया दिनुहोस्