दीपक घिमिरे (इमेज)
भैरहवा, जेठ १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई कांग्रेसले कुनै हालतमा संसदमा टेबल गर्न नदिने चेतावनी दिएका छन् ।
शनिबार भैरहवामा रुपन्देही कांग्रेसले आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै सभापति देउवाले लोकतन्त्रको पहरेदार स्वतन्त्र प्रेसविरुद्ध संसदमा लगेको विधेयक दर्ता गर्न खोजे कांग्रेसले सदन अवरुद्ध गर्ने स्पस्ट पारे ।
केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारको यस्तै रवैया जारी रहे जनताले राणा र राजाको हालतमा पुर्याउने उनको भनाइ थियो ।
पार्टीभित्रको गुटबन्दीको अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सुरु गरेका विकासका कामलाई सरकारले आफूहरुले सुरु गरेको भन्दै प्रचारबाजीमात्र गरेको उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस नेताहरु शेखर कोइराला, बालकृण खाँण, विश्वप्रकाश शर्मालगायतले धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्