-प्रतिक्षा खनाल/ईमेज
काठमाडौं । छिमेकी मुलुक भारतको विदेशमन्त्रीमा एस जयशंकर नियुक्त भएपछि त्यसको तरंग नेपालमा परेको छ ।
अधिकांश नेपालीले २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको मुख्य योजनाकार एस जयशंकर नै भएको मान्दै आएका छन् ।
तर, कूटनीतिक क्षेत्रका विज्ञहरुले भने जयशंकर विदेशमन्त्री हुँदा पनि भारत–नेपाल सम्बन्ध सुमधुर नै रहने आशा व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउँदा विदेशसचिव रहेका एस जयशंकरलाई आफ्नो दोस्रो कार्यकालमा विदेश मन्त्री बताएका छन् ।
गैरराजनीतिक पृष्ठभूमि रहेका र नेपालमाथिको नाकाबन्दीका योजनाकार मानिँदै आएका जयशंकर विदेशमन्त्री हुनुले नेपालमा तरंग ल्याएको छ ।
जयशंकरकै कठोर नीतिका कारण भारतले नेपालमाथि नाकाबन्दी गरेको तर्क गर्नेहरुको संख्या नेपालमा कमी छैन ।
२०७३ साल असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्रीको मोदीको विशेष दूतका रुपमा काठमाडौं आएका जयशंकरले त्यस बेला नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गरेर संविधान जारी गर्ने मिति केही पर सार्न आग्रह गरेका थिए ।
त्यति मात्र होइन संविधान जारी गर्ने समय केही पर नसारे भारतले कठोर कदम चाल्नसक्ने चेतावनीसमेत दिएको चर्चा हुने गरेको छ
तर, त्यसको बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरुले ३ गते नै संविधान जारी गरेपछि रुष्ट भएको भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो ।
तिनै तत्कालीन विदेशसचिव जयशंकर पुनः मोदी सरकारका विदेशमन्त्री बनेका छन् ।
यसले गर्दा कतै जयशंकरको पुरानै व्यवहार लागू भएमा आफूहरुलाई अप्ठेरो त पर्दै भन्ने आशंका धेरै नेपालीमा छ ।
तर, कूटनीतिज्ञहरुले भने राजनीतिक नेतृत्वको निर्देशनअनुसार विदेश मन्त्रालय चल्ने भएकाले त्यसले दुई देशबीचको सम्बन्धमा कुनै तनाव उत्पन्न नहुने बताएका छन् । २०७२ साल र अहिलेको परिवेश फरक भइसकेको छ ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा नेपालले पनि भारतको विश्वास कायम गर्दै सम्बन्धलाई अघि बढाउनुपर्ने बताए ।
उनले कुनै पनि देशको परराष्ट्रमन्त्रीले नीति निर्माण गर्ने गर्ने नभई कार्यान्वयन मात्रै गर्ने भएकाले नयाँ विदेशमन्त्री जयशंकरले पनि प्रधानमन्त्री मोदीकै विदेश नीति कार्यान्वयन गर्ने बताए ।
भारतीय प्रधानमन्त्री मोदीका विश्वासपात्र जयशंकर आफैं अनुभवी, कूटनीतिज्ञ र विद्वान पृष्ठभूमिका व्यक्ति हुन् ।
भारतले अब कस्तो व्यवहार गर्ला भन्ने आशंका गर्नुभन्दा नेपालले आफूले कस्तो थिति बसाल्ने हो भन्नेमा स्पष्ट हुनुपर्ने बताउँछन् पूर्वपरराष्ट्रमन्त्री पाण्डे ।
भारत दक्षिण एसियाको मात्र होइन, विश्वकै उदाउँदा शक्तिसम्पन्न मुलुक बन्ने दिशामा अग्रसर छ ।
उसले छिमेकी मुलुकहरुसँगको बिग्रिएको सम्बन्धलाई सुमधुर बनाउँदै जाने नीति अबलम्बन गर्ने अपेक्षा गरिएको छ ।
यसले पनि आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप मजबुद हुने विश्वास लिन सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्