Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपालबाट पनि कम्युनिस्टहरु बढारिन सक्छन् : उपेन्द्र यादव


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, जेठ १७ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफूहरु सरकारमा गएको जिकिर गरेका छन् । त्यो नभए यथास्थितिमा बस्न नसक्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने आश्वासन दिइरहेको उनको भनाइ छ ।

‘संविधान संशोधनका लागि दुईतिहाइ आवश्यक पर्ने भएकाले हामीहरु सरकारमा गएका हौं’–समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले भने–‘प्रधानमन्त्री ओलीले संशोधन गर्छौं भनिराख्नु भएको छ । तर, अहिलेसम्म संशोधनका लागि सरकारले सहयोग गरेको छैन ।’

सरकारबाट बाहिरनसक्ने संकेत गर्दै उनले भने–‘यदि सरकारले संविधान संशोधन नगरेमा आफूहरु यथास्थितिमा रहँदैनौं ।’

मन्त्री यादवले दुईतिहाइ मत प्राप्त भएरपनि सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरे ।

उनले वर्तमान दुईतिहाइको कम्युनिस्ट सरकारले काम गर्न नसके नेपालबाट पनि अरु मुलुकबाटजस्तै कम्युनिस्ट पार्टी ‘बढारिने’ धारणा राखे ।

विश्वका अधिकांश मुलुकबाट कम्युनिस्टहरु बढारिहेको भन्दै उनले भ्रष्टाचार नियन्त्रण, सुशासनलगायतका काम गर्न नसके नेपालबाट पनि कम्युनिस्टहरु बढारिने दाबी गरे ।

‘विश्वबाट कम्युनिस्टहरु बढारिहेको अवस्थामा यहाँ कम्युनिस्टको बहुमत सरकार छ । उनीहरुका लागि यो अग्निपरीक्षाको समय हो’–शुक्रबार भैरहवामा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले भने–‘यदि, कम्युनिस्ट नेतृत्वको सरकारले भ्रष्टाचार, विभेदको अन्त्य, संघीयता संस्थागतलगायत काम गर्न सकेन भने कम्युनिस्ट इतिहासका पात्र हुनेछन् ।’

संघीयतालाई संस्थागत गर्नु सरकारको मुख्य चुनौती रहेको भन्दै उनले प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।

‘प्रदेश सरकार अधिकारसम्पन्न भएमात्र संघीयता र गणतन्त्र बलियो हुन्छ’–उनले भने ।