दीपक घिमिरे (इमेज)
भैरहवा, जेठ १७ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
दुईतिहाइ मत प्राप्त सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी उनले गरे ।
उनले कांग्रेस र कम्युनिस्ट ‘ब्रान्ड’का पार्टीले मुलुकका लागि अब केही गर्न नसक्ने भन्दै ती पार्टीहरुले विश्राम लिनुपर्ने बताए ।
शुक्रबार भैरहवामा पार्टीद्वारा आयोजित पत्रकार भेटघाटमा उनले आफ्नो पार्टी सरकारमा रहेपनि सरकारको खुलेरै विरोध गरे ।
‘मुलुकमा दुईतिहाइको कम्युनिस्ट सरकार भएपनि जनतालाई केही दिन सकेन’–उनले भने–‘यसैकारणले हाम्रो पार्टी संघीयता, सुशासन, समृद्धि र समाजवादलाई लिएर वैकल्पिक शक्तिकोरुपमा आएको हो ।’
उनले वर्तमान सरकारले ल्याएका दुईओटा बजेटबाट आमूल परिवर्तन, आर्थिक–सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने पुष्टि भएको जिकिर गरे ।
एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकाले सरकारले मुलुकमा कुनैपनि ढंगले सुशासन कायम गर्न नसकेको दाबी उनले गरे ।
बूढीगन्डकी जलविद्युत् आयोजना, ‘बाइडबडी’ विमान, ललिता निवास जग्गा प्रकरणजस्ता कान्डले पनि त्यसको पुष्टि गरेको उनको तर्क थियो ।
निर्मला पन्त प्रकरणलगायतका उदाहरण दिँदै उनले सरकारले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न नसकेको आरोपसमेत लगाए ।
संघीयता कमजोर बनाउन सरकारले संविधानविपरीत प्रदेश र स्थानीय सरकारको अधिकारसमेत खोसेर केन्द्रीकरण गरेको आरोप भट्टराईले लगाए ।
संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा रहेको भन्दै उनले संविधान संशोधन नभए सरकारबाट बाहिरिएर सडक र सदनबाट संघर्ष गर्ने बताए । कहिलेसम्म संविधान संशोधन हुने भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् ।









प्रतिक्रिया दिनुहोस्