मीरा बस्नेत र उत्तम मानन्धर (इमेज)
काठमाडौं, जेठ १६ । मुलुकमा गणतन्त्र आएको ११ वर्षपछि राजसंस्थाको प्रतीक नारायणहिटी परिसरमै गणतन्त्र स्मारक बनेको छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी छाडेसँगै यसलाई संग्रहालय बनाइएको थियो । अब त्यहाँ अवलोकनका लागि गणतन्त्र स्मारक थपिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गणतन्त्र स्मारक उद्घाटन गरेकी हुन् ।
गणतन्त्र स्थापना भएलगत्तै गणतन्त्र ल्याउन योगदान गर्नेहरुको सम्झनामा स्मारक निमार्ण गर्ने भनिएपनि स्मारक निर्माण गर्न करिब ८ वर्ष लागेको छ ।
सबैभन्दापहिला गणतन्त्र स्मारक कहाँ बनाउने भन्नेमै लामो समय विवाद भयो ।
स्मारकभित्र प्रवेश गर्नेवित्तिकै एउटा ठूलो ढुंगा देख्न सकिन्छ । किताब आकारमा कुँदिएको यो ढुंगामा नेपालको संविधान खोपिएको छ ।
गणतन्त्र स्मारकको मुख्य आकर्षण मानिएको ‘मेमोरियल प्लाजा’मा १२ मिटर उचाइका चारओटा स्तम्भ निर्माण गरिएको छ । गणतन्त्र स्मारकका चारओटै स्तम्भले फरक–फरक विम्ब बोकेका छन् ।
पहिलो स्तम्भले गणतन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने सहिदहरुको सम्झना दिलाउनेछ । दोस्रोले बेपत्ता पारिएकाहरुको सम्झना गराउनेछ । यस्तै, तेस्रो र चौथो स्तम्भले हराएका र अंगभंग भएकाहरुको याद दिलाउनेछ ।
यहाँ नेपालको नक्सामा देशको भौगोलिक राजनीतिक स्वरुप देख्न सकिन्छ । नक्सामा हिमाल, पहाड र तराईको भौगोलिक स्वरुपलाई कौशलतापूर्वक प्रस्तुत् गरिएको छ ।
करिब ८ वर्षमा निर्माणकार्य सम्पन्न भएको यस स्मारक नारायणहिटी संग्राहलय परिसरको ३५ रोपनी जग्गामा निर्माण गरिएको छ ।
संग्राहलय परिसरको ३५ रोपनी जग्गामा स्मारक निर्माण गरिएपनि स्मारक भवन भने दुई रोपनी जग्गामामात्र फैलिएको छ । बाँकी रहेको जग्गामा चारैतिर बगैंचा, पोखरी, पानीको फोहोरा, ‘क्याफेटेरिया’का साथै त्यहाँ अवलोकन गर्न आउने सर्वसाधारण बस्नका लागि खुला क्षेत्र बनाइएको छ ।
गणतन्त्र स्मारक बाहिरबाट हेर्दा सानो देखिएपनि स्मारकमुनि दुई तलाको छ । दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तीकाक्रममा खिचिएका तस्वीरहरु राखिएका छन् । दोस्रो तलामा नेपालको संविधानसम्बन्धी विभिन्न विषयवस्तु संग्रहित गरिनेछ ।
स्मारकमा गणतन्त्र प्राप्तीको संघर्षका श्रव्यदृश्य सामग्री प्रदर्शनीका लागिसमेत कक्ष निर्माण गरिने भएपनि काम भने सम्पन्न भएको छैन ।









प्रतिक्रिया दिनुहोस्