Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


कम्युनिस्ट सरकारका कारण लोकतन्त्र खतरामाः सभापति देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा रहेको बताएका छन् ।

गणतन्त्र दिवसको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर–६ ले आज काठमाडौमा गरेको कार्यक्रममा उनले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि प्रहार गरेको बताए ।

कम्युनिष्टहरु लोकतन्त्रवादी नभएको भन्दै देउवाले लोकतन्त्रलाई बलियो बनाउन बलियो कांग्रेस आवश्यक रहेकोमा जोड दिए ।

सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको जिकीर गरे ।

उनले त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

प्रेस स्वतन्त्रता नभए लोकतन्त्रनै बलियो नहुने उनको भनाई थियो ।

लोकतन्त्रको लागि लडेको नेपाली कांग्रेसले फेरी पनि कम्युनिष्ट सरकारबिरुद्ध लड्नु पर्ने समय आएको बताए ।

उनले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर नै आफ्नो पार्टीले राजतन्त्रको अन्त्यको लागि अगुवाई गरेको स्मरण गरे ।

कम्युनिष्ट सरकारलाई मुलुक बचाउने चिन्ता नभएको भन्दै मुलुक बचाउन फेरी पनि नेपाली कांग्रेसकै आवश्यकता रहेको बताए ।

कार्यक्रममा उपसभापति बिमलेन्द्र निधि,कोषाध्यक्ष सितादेवी यादव,नेताहरु भीमसेनदाश प्रधानलगायतले गणतन्त्रको रक्षार्थ नेपाली कांग्रेस एक भएर लड्नु पर्ने आवश्यकता औल्याए ।

गणतन्त्र दिवसकै अवसरमा लोकतन्त्रको लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै नेपाली कांग्रेसका नेता ध्यानगोबिन्द रञ्जितलाइृ सम्मान गरिएको थियो ।