
ललितपुर, असार २१ । नेपालमा थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व तथा सातौँ संघ नायक धम्माचरिय अग्गमहापण्डित भिक्षु डा.ज्ञानपूर्णिक महास्थवीरको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।
ललितपुर स्थित शंखमुल घाटमा नेपालको राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सलामी दिएर बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिएको हो ।
कार्यवाहक संघ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबति दिएपछि अन्य भिक्षु, अनाकारिका र भिक्षु ज्ञानपूर्णिकका आफन्तजनले संयुक्त रुपमा श्रद्धान्जली व्यक्त गर्दे दागबति दिएको थियो ।
यस अघि विश्व शान्ति विहारबाट दिवंगत भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालेको थियो । शव यात्रा नगर परिक्रमा गरि शंखमुल घाटमा ल्याएको थियो भने विभिन्न बौद्ध पाठ समेत गरेको थियो ।
अग्गमहा सधम्मज्योतिकध्वज भिक्षु ज्ञानपूर्णिकको ८१ वर्षको उमेरमा गत शुत्रवार विहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो ।
मृगौला सम्बन्धि रोगबाट पिडित नियमित डायलासिस गराउँदै आउनु भएको थियो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न बौद्ध संघसंस्थाका बौद्ध भिक्षु, अनागारिका, प्रतिनिधि, उपासक उपासिका, दलका नेता, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
भिक्षु ज्ञानपूर्णिकलाई बौद्ध जगतमा अभिधम्मको अध्येयता र कुशल व्याख्याताका रुपमा लिइन्छ ।
बुद्धधर्म सम्बन्धी दजनौं ग्रन्थको नेपाल भाषा, नेपाली र अंग्रेजी भाषामा अनुवाद उहाँले गर्नु भएको छ ।
वि.सं. १९९६ मंसिर ६ गते का दिन पाल्पा, तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराको रुपमा जन्मिनुभएको हो ।
भिक्षु हुनु भन्दा अघि उहाँको नाम हिरालाल शाक्य थियो ।
महास्थवीर लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको थेरवादी बौद्ध एकेडेमीका संरक्षक र संस्थापक अध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस्