Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन आर्थिक राहतको व्यवस्था गर्न माग


0
Shares

काठमाडौं, असार १८ । सांसदहरुले कोरोना महामारीका कारण थला परेको सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन विशेष आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद रामनारायण बिडारीले महामारीका कारण थला परेको सार्वजनिक यातायात क्षेत्रलाई पुनर्जीवन दिन १० प्रतिशत पुनर्कर्जा र ढुवानी भ्याट छुटलगायतका व्यवस्था गर्न माग गर्नुभएको हो ।

बैठकको विशेष समयमा भाग लिँदै सत्तारुढ दल नेकपाकै सांसद परशुराम मेघी गुरुङले भ्रष्टाचार अन्त्य नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य जिम्मेवारीबाट सरकार पछि हट्न नहुने धारणा राख्नुभयो ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आर्थिकरुपमा सबल नभएसम्म दलित समुदायप्रतिको भेदभाव कायमै रहने भन्दै आर्थिक प्याकेजको घोषणा गर्न माग गर्नुभयो ।

सांसद सुमनराज प्याकुरेलले प्रदेश नम्बर–२ मा नेकपाका कार्यकर्तामाथि अन्य दलका कार्यकर्ताबाट चरणबद्ध ढंगले आक्रमण भइरहेको भन्दै शान्ति–सुरक्षा कायम गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले सिंहदरबारको साँचो हातमा हुनेहरुले तराई–मधेसमा रहेको प्राकृतिक स्रोत–साधनको दोहन गरिरहेको तर दोष मधेसी समुदायलाई दिने गरेको आरोप लगाउनुभयो ।

यस्तै, सांसद विमला राई पौडेलले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्ममाथि धेरै ठाउँमा भौतिक आक्रमण भएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्तिकुमारी अधिकारीले असारे विकास अन्त्यको लागि नीति निर्माणमै परिवर्तन गर्न माग गर्नुभयो ।