
एजेन्सी । रुसमा भएको जनमत संग्रहको अन्तिम चरणमा पुगेको मतगणनाबाट संविधान परिमार्जनको प्रस्ताव अनुमोदन भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने बाटो खुला गरिदिने लगायतका बुँदा परिमार्जनमा प्रस्तावित थिए ।
निर्वाचन अधिकारीहरूका अनुसार संविधान परिमार्जनको प्रस्तावमा भएको चुनावको मतगणना करिब ९० प्रतिशत भइसकेको छ । ती मध्ये ७७ प्रतिशतले प्रस्तावको पक्षमा मतदान गरेका छन । जनमतको निम्ति राखिएको प्रस्तावको एउटा मुख्य बुँदामा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमा रहने बाटो खुला गरिदिने प्रस्ताव गरिएको थियो ।
संविधानमा गरिने परिमार्जनसँगै सन् २०२४ सम्म कार्यकाल बाँकी रहेका ६७ वर्षीय पुटीन त्यसपछि पनि ६ वर्षका दुईवटा कार्यकाल राष्ट्रपतिको उम्मेदवार बन्न सक्छन । अर्थात् चुनावमा उठे र जितेमा पुटिन सन् २०३६ सम्म रुसको नेतृत्व गर्न सक्छन । विपक्षीहरूले संविधान परिमार्जनलाई आजीवन राष्ट्रपति बन्ने पुटिनको दाउपेच भनेका छन । पुटिनले भने त्यो आरोप अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्