
चितवन । चितवनको पिछडिएको क्षेत्र सिद्धिका वासिन्दालाई व्यावसायिक मौरीपालनमा आकर्षित गराउन पहल थालिएको छ ।
आर्थिक रुपमा विपन्न रहेका चेपाङ समुदायको जीवनस्तर सुधार्ने उद्देश्यले मौरीपालन व्यवसायका लागि सहुलियत दिएर यसप्रति आकर्षित गराउन थालिएको हो ।
विशेष गरी आर्थिक रुपमा कमजोर चितवनको कालिका नगरपालिका वडा नम्बर १० र ११ मा रहेका चेपाङ समुदायको जीवनस्तर उकास्नका लागि मौरीसहितको घार वितरण गरिएको हो ।
कालिका नगरपालिका तथा सपना भिलेज सोसिइल एम्प्याक्टकद्वारा सञ्चालित प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाको सहयोगमा मौरीसहितको घार वितरण गरिएको थियो ।
उनीहरुलाई अनुदानको रुपमा मौरी वितरण गरिएको र तिन बर्षभित्र २० घार मौरी फिर्ता गर्नुपर्ने शर्त तोकिएको छ ।
त्यसको लागि सबैभन्दा पहिले किसानले आफ्नै लगानीमा १० घार मौरी खरिद गर्नुपर्ने त्यसपछि मात्रै नगरपालिका र सपना भिलेजबाट २० घार मौरी प्राप्त गर्ने प्रावधान छ ।
पहिलो चरणमा १० जनालाई दुई सय घार मौरी वितरण गर्ने योजना अन्तर्गत केही दिन अघि ५ जनालाई एक सय घार मौरी वितरण गरिएको थियो ।
व्यवसायिक रुपमा मौरीपालन गर्ने सोचको साथ आफुले १० घार मौरी खरिद गरेको र २० घार मौरी अनुदानमा पाएको स्थानिय किरण चेपाङ्ग बताउँछन् ।
मौरी वितरणको लागि सपना भिलेजले ९ लाख र कालिका नगरपालिका ७ लाख रुपयाँ उपलब्ध गराएको छ ।
अन्य जिल्लाका कृषकहरु समेत मौरी चराउन आउँने यस गाउँमा स्थानीय चेपाङ समुदायाई नै व्यवसायी बनाउने उद्देश्यले मौरी वितरण गरिएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठको भनाइ छ ।
मौरीपालनको लगि आवश्यक करिब एक लाख चिउरीको विरुवासमेत वितरण गरिने सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्