१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


गर्मीसँगै वर्षयाममा झापामा सर्पदंशका बिरामी बढे


0
Shares

सुरेन्द्र भण्डारी/ ईमेज

झापा । वर्षायाम सुरु भएसंगै झापामा सर्पदंशका बिरामी बढेका छन् । हरेक वर्ष ग्रामीण क्षेत्रका सर्वसाधारण सर्पको डसाईबाट पीडित हुने गरेका छन् । प्रत्येक वर्ष झापामा झण्डै तीन हजार पाँच सय जना सर्पको डसाईबाट पीडित हुने गरेका छन् ।

बाह्रदशी गाउँपालिका–२ राजगढका वीरबहादुर कार्कीलाई दुई दिनअघि विषालु सर्पले डस्यो । नेपाली सेनाद्वारा सञ्चालित झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उहाँको उपचार भइरहेको छ ।

विषालू गोमन सर्पले डसेको डेढ घण्टाभित्र सर्पदंश उपचार केन्द्र चारआली आइपुग्नु भएका कार्कीले उपचारपछि अहिले नयाँ जीवन पाउनु भएको छ । सर्पदंश उपचार केन्द्र चारआलीको तथ्यांकअनुसार गत वर्ष १ हजार ३ सय ३६ जना सर्पदंशका कारण विरामी भएका थिए ।

जसमध्ये ३१ जनालाई विषालु सर्पले डसेको थियो । झापासहित देशभर विषालूभन्दा विष नभएका सर्पको डसाइबाट धेरै मानिस पीडित हुँदै आएको सर्पदंश उपचार केन्द्र चारआलीका डा.सुलभ श्रेष्ठ बताउनु हुन्छ ।

सर्पदंश उपचार केन्द्र चारआलीमा चालू आर्थिक वर्षको वैशाख, जेठ र असारको दोसो हप्तासम्ममा सर्प दंशको उपचार गराउनेको संख्या २ सय ५० रहेको छ भने झापाकै दमकमा वैशाख र जेठमा मात्रै १ सय ६८ जनाले सर्पदंशको उपचार गराएका छन् । चेतनाको अभावले ग्रामीण क्षेत्रमा अझैंपनि सर्पले डसेमा झारफुक गर्ने चलन छ ।

सर्पले डसेका व्यक्तिलाई समयमा अस्पताल नपु¥याउँदा धेरैले अकालमै ज्यान गुमाउने गरेका छन् । सर्पदंश उपचार केन्द्र चारआलीमा भेन्टिलेटरको अभावका कतिपय विरामीको उपचारमा समस्या हुने गरेको सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई बताउनुहुन्छ ।

सर्प दंशका कारण हरेक वर्ष झापामा कति मानिसले ज्यान गुमाएका छन् यसको यकिन तथ्यांक छैन तर सर्पदंशका कारण विरामीको संख्या भने हरेक वर्ष बढ्दो छ ।