२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बस्ने काठमाडौं, ठेगाना गाउँ: रिपोर्टबिना काठमाडौंका घरभेटीले घरमा छिर्न दिएनन्


0
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र ? तर, सडकमा सवारीसाधनको जाम छ। पैदल यात्रुको उस्तै चाप छ ।

लकडाउन खुकुलो भएको मौकामा संघीय राजधानी भित्रिनेको लर्को छ। पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्छ। दैनिक औसत ८ सय जना लाइन लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्।

काठमाडौं भित्रिनेहरू कोरोना परीक्षण गर्न आतुर देखिन्छन् । तर, उनीहरूले परीक्षण गर्दा भर्ने फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन् ।

उनीहरूको प्रवृत्ति छ, बसोबास राजधानीको, ठेगाना जन्मस्थानको। यो प्रवृत्तिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी तनावमा देखिन्छन् ।

‘आत्मीयता रहने हुनाले जन्मथलोको मायाले हो वा आफ्नो परिचय लुकाउनका लागि हो । त्यो थाहा भएन’, महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘तर, वास्तविक ठेगाना उल्लेख नगर्दा हामीलाई संक्रमित खोज्नै हैरान हुने गर्छ।’

कोरोना ७७ वटै जिल्लामा फैलिएको छ । देशभरका २२ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ। ती प्रयोगशालामा दैनिक ४ देखि ७ हजारसम्म स्वाब नमुना परीक्षण हुन्छ।

काठमाडौंमा डेरामा आउनेलाई घरभेटीले पीसीआर परीक्षण रिपोर्ट ल्याउन दबाब दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाहिरबाट आएका व्यक्ति मापदण्डबमोजिम दुई सातासम्म क्वारेन्टाइनमा बसेको प्रमाण छ र कोरोनासम्बन्धी लक्षण छैन भने पीसीआर नगरी घर पठाउन मिल्छ ।

तर, डेरावालहरू रिपोर्टका लागि टेकु अस्पतालमा दैनिक औसत ८ सय जनाको भीड लाग्ने गरेको छ। रिपोर्टबिना घरभेटीले घरमा छिर्न नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको डा. गौतम बताउँछन् ।अन्नपूर्ण पोष्ट दैनिकबाट