३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नेकपाका अध्यक्षसहित शीर्ष नेतालाई झारियो मञ्चबाट, सबैलाई समान कुर्सी र आशन


0
Shares

NCP standing comittee meeting

काठमाडौं, असार १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष र बाँकी सदस्यको कुर्सी र बसाईको स्थान समान पारिएको छ । अध्यक्षको कुर्सी र आशन नै फरक फरक पारेपछि नेकपामा कुर्सी र आशनकाण्ड पटक पटक बल्झिने गरेको थियो ।

जारी स्थायी कमिटी बैठकमै पनि दुई अध्यक्षका लागि सोफा र अरु सदस्यलाई सामान्य कुर्सीको व्यवस्था गरेपछि सदस्यहरुले आपत्ति जनाएका थिए । सदस्यहरुको आपत्तिपछि शुरुमा कुर्सी फेरेका उनीहरुले मंगलबारको बैठकमा स्थान नै फेरेका छन् । चार पटकको प्रयासपछि उनीहरु समान लहरमा आइपुगेका छन् ।

सोफाबाट कुर्सीमा झारिएका दुई अध्यक्षसहित सचिवालयका सबै सदस्यलाई बैठक कक्षको एउटै हलमा समानस्तरमा ओरालिएको हो । यसअघि सचिवालयका सदस्यहरु मञ्चमाथि बस्ने र अरु तल बसेर सुन्नुपर्ने मञ्च व्यवस्थापनि गराइएको थियो । मंगलबार भने सदस्यहरुले सबै हलमै बस्नुपर्ने भन्दै आपत्ति जनाएपछि मञ्चबाट तल झारिएको हो ।

बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई अग्लो मञ्च, सुविधाजनक सोफा र सचिवालयकै अरु सदस्यभन्दा अलि अगाडी पारेर राखिएको थियो ।

त्यस्तो बसाईको प्रबन्ध गरेको देखेपछि वरिष्ट नेता माधव नेपालले सोही दिन आपत्ति जनाउँदै दुई अध्यक्षको सरह लाइनमा आफैले कुर्सी सारेर बस्नुभएको थियो । सचिवालयका ९ जना नेतालाई मञ्चमा राखिँदा स्थायी कमिटीका सदस्यलाई तल हलमा राखिएको थियो ।

शुक्रबार दुई अध्यक्ष बसेको सोफा हटाएर अरुसरहको कुर्सी राखिएकामा मंगलबार(आज) भने सबैलाई एउटै हलमा समान लहरमा राखिएको हो ।

मञ्चबाट तल झारिएपछि अध्यक्षद्वय ओली, दाहाल, नेताहरु नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा बस्ने व्यवस्था गरिएको छ ।

यसअघि मञ्चमा बस्ने पाएका सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेललाई स्थायी कमिटी सदस्यकै लहरमा राखिएको हो ।