
काठमाडौं । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ ।
वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो ।
धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए ।
ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् ।
नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् ।
तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् ।
हाल एआईजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । नेपाल प्रहरीमा एआइजीका दरबन्दी तीन वटा मात्रै छन् ।
प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
नयाँ आइजी नियुक्तिको मिति नजिकिँदै जाँदा सरकारले समेत सोबारे तयारी थालेको छ । सरकारका एक मन्त्रीले नयाँ महानिरीक्षक आउने प्रक्रिया स्वाभाविक भएको र यसपटक पहिले जस्तो फोहोरी खेलसमेत नहुने बताए । -राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्