२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उपत्यका प्रवेशलाई खुकुलो बनाउने सरकारको निर्णय


0
Shares

काठमाडौं, असार १५ । कोरोना (कोभिड—१९) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका प्रवेश गर्न दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिसमा होम क्वारेन्टिनमा बस्ने गरी उपत्यका भित्रिन दिने निर्णय गरिएको हो ।

मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागु हुने पनि उहाँले बताउनुभयो ।

सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय पनि गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ ।

यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ ।

यस्तै आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजिकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरिएको छ ।