२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सलह नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण, नियन्त्रण गर्न सकिन्छ : विज्ञ


0
Shares

काठमाडौं, असार १४ । बारा, पर्सा र रुपन्देहीलगायतका जिल्लाबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् ।

वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुको छ ।

वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्नसक्ने कृषि विभागका पूर्वमहानिर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो ।

सोमबार (भोलि)सम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्नसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आठ–१० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा दुई–चार लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

अहिले डराउनैपर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुवाँ लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताउनुभयो ।

सलह किरालाई बिहान विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ ।

साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८–९ बजेपछिमात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५–६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।