
काठमाडौं । सत्तारुढ दल नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको छ ।
जनताको कोषबाट सञ्चालित बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर नेकपाले राजनीतिक मात्र होइन, आर्थिक रूपमा पनि राज्यलाई दोहन गरिरहेको छ ।
तत्कालीन एमाले र माओवादीले पार्टी एकताको घोषणा नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेका थिए ।
२ जेठ ०७५ मा पार्टीका केन्द्रीय सदस्य बालुवाटारमा भेला भएर एकतासम्बन्धी निर्णयको अनुमोदन गरेका थिए ।
३ जेठमा घोषणा भएको नेकपा केन्द्रीय समितिका चार सय ४१ सदस्यले शपथ मात्र होइन, खुसियालीको भोज पनि बालुवाटारमै खाएका थिए ।
त्यसो त केन्द्रीय कमिटीको पहिलो बैठक १० जेठ ०७५ मा बालुवाटारमै बसेको थियो । त्यस्तै, नेकपा केन्द्रीय सचिवालयका ५० बैठक बालुवाटारमै बसेका छन् ।
पार्टी एकतापछि बालुवाटारमा नेकपाका ५० भन्दा बढी बैठक बसेका छन् । त्यसमध्ये जम्मा दुई बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेका छन् । ‘
प्रधानमन्त्री तथा अध्यक्ष अस्वस्थ भएर अनुपस्थित भएका वेला दुई बैठक पार्टी कार्यालयमा बसिएको हो, त्योभन्दा अरू सबै बैठक सरकारी निवासमै भएका छन्,’ नेकपा सचिवालयका एक सदस्यले भने ।
३ फागुन ०७४ मा ओली प्रधानमन्त्रीको रूपमा नियुक्त भएयता पार्टीका महत्वपूर्ण र धेरै बैठक प्रधानमन्त्रीकै सरकारी निवासमा भएका छन् ।
अनौठो यो छ देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाका दुईवटा केन्द्रीय कार्यालय छन्, तर बैठकस्थल भने बालुवाटार बनेको छ ।
बालुवाटारमै ओली वंशको भेला र सम्मान
प्रधानमन्त्री ओलीले थुप्रै सार्वजनिक कार्यक्रमसमेत सरकारी निवास बालुवाटारमा आयोजना गरेका छन् । २३ भदौ ०७५ मा ओली वंशको साधारणसभा बालुवाटारमै आयोजना गरिएको थियो ।
सो कार्यक्रममा ओली वंश अक्षयकोषले प्रधानमन्त्रीलाई अभिनन्दन गरेको थियो । ओलीका पिता मोहनप्रसाद र पत्नी राधिका पनि सम्मानित भएका थिए ।
सारंगी साँझसम्मका भोजै–भोज
प्रधानमन्त्री ओलीले बालुवाटारमै आफ्नो बर्थडे मनाउनेदेखि पार्टी नेता, सांसद, कलाकार र पारिवारिक भोज आयोजना गर्दै आएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच फागुन ०७४ मा पार्टी एकताको सैद्धान्तिक घोषणा भएपछि मात्र होइन, ३ जेठ ०७५ मा एकता घोषणा भएको साँझ पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा नेता–कार्यकर्ताका लागि भोजसहितको कार्यक्रम राखेका थिए । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्