
नारायणी लामिछाने र सुन्दर तामाङ (इमेज)
काठमाडौं, असार १३ । ‘लकडाउन’का कारण तीन महिना बन्द भएर असार लागेपछिमात्रै खुलेका पसलमा अब विस्तारै पुरानो ‘स्टक’ सकिन थालेको छ ।
ग्राहकको संख्या क्रमशः बढ्न थालेपछि बजारमा गर्मीका कपडा, इलेक्ट्रिक सामग्री, मोबाइललगायतका सामग्रीको खपत बढेसँगै स्टक सकिनुका साथै मूल्य पनि बढेको छ ।
लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि मुख्य बजार न्यूरोड, असन, इन्द्रचोकमा सर्वसाधारणको भिड बढ्न थालेको छ । तर, व्यापार भने न्यून छ ।
सर्वसाधारणको भिड बढेपनि भाडा तिर्नेसमेत व्यापार हुन नसकेको व्यापारी बताउँछन् ।
लामो समयसम्मको लकडाउनका कारण सामान आयात हुन नसक्दा पुरानै स्टकले धान्नुपरेको व्यापारी बताउँछन् ।
काठमाडौंका मुख्य व्यापारिक केन्द्रलगायत विभिन्न सपिङ मलमा पसलहरु खुलेपनि व्यापार भने शून्य रहेको व्यवसायीहरुको भनाइ छ ।
कोरोनाको कहरका कारण सुरक्षित रही सर्वसाधारण घरमै बस्ने र स्वास्थ्य र खाद्यान्नलाईमात्र प्राथमिकता दिँदा पनि कपडाको व्यापार नभएको व्यवसायीहरुको भनाइ छ ।
योबेला बजारमा सामान पनि नपाइने भएकोले कम्प्युटर, मोबाइललगायतका सामग्रीमा २० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
नयाँ सामान बिक्री नहुने र मर्मतका लागि पनि न्यून संख्यामा आउने भएकोले भाडा तिर्नसमेत मुस्किल भएको व्यापारी बताउँछन् ।
सार्वजनिक यातायात पनि नखुलेकाले सर्वसाधारणको आवागमन नहुँदा व्यापार माथि उठ्न नसकेको हो ।
सामान भन्सार नाकामै अड्किएकाले अबको स्टकले जम्मा २० दिनमात्रै धान्ने व्यापारीको भनाइ छ ।
बजारमा यतिबेला गर्मीका कपडाको भरिनुपर्ने भएपनि सामान ल्याउन नसक्दै पुरानै मौज्दात सकिएपछि भने सामानको अभाव हुने न्यूरोडका व्यापारी बताउँछन् ।
लामो समयदेखिको लकडाउन, सीमा बन्द हुँदा स्टकमात्रै भेटिन्छन् भने अधिकांश सामग्रीको २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
कोरोनाको संक्रमणका कारण चीनमा ६ महिनाअघिदेखि नै लकडाउन भएकाले अत्यावश्यक सामग्री आयात हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्