
काठमाडौं, असार १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काममात्रै भएको बताउनुभएको छ ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (आनाज)द्वारा राष्ट्रिय धान दिवसको अवसरमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको जिकिर गर्नुभयो ।
उहाँले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर बिगार्ने काम गरिएको आरोप लगाउनुभयो ।
लामो समयसम्म बिगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालको भनाइ थियो ।
देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि उत्पादनको व्यवस्थापन बजारको जिम्मा लगाउँदा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको उहाँले बताउनुभयो ।
उहाँले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको उल्लेख गर्नुभयो ।
गएको दशकमा कृषि मन्त्रालय भित्रपनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फमात्रै ध्यानकेन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।
केही दशक खेर गइसकेकाले अब नयाँ व्यवस्थाअनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारीसमेत उहाँले गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्