
बिराज रोस्यारा (इमेज)
कैलाली, असार १२ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढीस्थित प्रयोगशाला र चितवनस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार शुक्रबार डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७/२७, बझाङका नौ, दार्चुलाका तीन र अछामका एकजनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका पाँच महिला र २० पुरुष गरी २५ जना, बझाङका तीन महिला र छ पुरुष गरी नौजना, बाजुराका १० महिला र १७ पुरुष गरी २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका आठ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका आठ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको उनले बताए ।
उनकाअनुसार चितवनमा गरिएको परीक्षणमा कैलालीका थप एक पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै, धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुुसार डोटीका २५, कैलालीको भजनी नगरपालिकाका दुई र चुरे गाउँपालिकाका पाँच गरी सात, बैतडीको पञ्चेश्वर गाउँपालिकाका दुई र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एकजनामा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएका ३५ जनामध्ये डोटीका छजना र कैलालीका एक महिला रहेका छन् । अरु पुरुष हुन् ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८८६ पुगेको छ ।
संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको छ । २४४ जना विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।





प्रतिक्रिया दिनुहोस्