२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


१६६ वर्ष पुरानो दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न (भिडियो)


0
Shares

प्रतीक्षा खनाल र देवेन्द्र महर्जन (इमेज)

काठमाडौं, जेठ १० । काठमाडौंस्थित मुलुककै पुरानो विद्यालय दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न भएको छ ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको विद्यालय चीन सरकारको सहयोगमा निर्माण गरिएको हो ।

गोरखा महाभूकम्प गएको तीन वर्षपछि चिनियाँ सहयोगमा पुनःनिर्माण थालिएको दरबार हाइस्कुलको शुक्रबार उद्घाटन गरिएको छ ।

काम थालिएको ९ महिनामै स्कुल तयार गर्न सफल हुनु सुुखद् भएको नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले बताइन् ।

चिनियाँ सहयोगमा सुरु गरिएका २५ आयोजनामध्येको यो एक हो ।

२० महिनामा निर्माण सक्ने लक्ष्य राखेर थालिएको पुनःनिर्माण समयभन्दाअघि नै सकिनु उत्साहजनक भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

यस्ता आयोजनाबाट नेपालीले सिक्ने अवसर पाएको उनको भनाइ थियो ।

१६६ वर्ष पुरानो दरबार हाइस्कुल नेपालको पहिलो विद्यालय हो ।

८० करोड रुपैयाँको लागतमा भवन निर्माणको काम सम्पन्न भएपनि यो भवनमा विद्यालय सन्चालनका लागि थप केही समय लाग्नेछ ।

९ रोपनी ३ आना जग्गामा बनेको ४६ कोठे ४ तल्ले भवनको बाहिरीस्वरुप पुरानै भएपनि भित्री बनावट पहिलेकोभन्दा केही फरक छ ।

भूकम्पले भत्काएपछि विद्यालयको पठन–पाठन अस्थायी टहरामा हुँदै आएको थियो ।

शिक्षक तथा विद्यार्थीहरु अस्थायी टहरामा अध्ययन–अध्यापन कठिन भएको अनुभव सुनाउँदै नयाँ भवनले उत्साह थपेको बताउँछन् ।

भिडियो हेर्नुहोस्