२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेकपामा खिचातानी


0
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, असार ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार सुरु भएको स्थायी कमिटी बैठकमा एजेन्डा तोकिएपछि अध्यक्षद्वयबीच आरोप–प्रतिआरोप हुँदा शुक्रबार (भोलि) बस्ने बैठक आ–आफ्नो पक्षमा पार्न नेताहरुबीच दौडधुप सुरु भएको छ ।

पार्टीबाटै असहयोग भएको गुनासो गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अबको बैठकलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहनुभएको छ भने दाहाल–नेपाल पक्ष पनि ओलीलाई गलाउने रणनीतिमा जुटेका छन् ।

नेकपा स्थायी समिति बैठकको पहिलो दिन शीर्ष नेताहरुबीच नै घोचपेच भयो । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको पुष्टि नेताहरुबीचको प्रस्तुतिले देखायो ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु गल्ती भएको भन्दै अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताका समयमा आलोपालो प्रधानमन्त्री बन्नेगरी गरेको सहमतिअनुसार हुनुपर्ने अडानमा फर्कने संकेत गर्नुभएको छ ।

अध्यक्ष दाहाल र नेपाल समूहको सरकारको काम प्रभावकारी नभएको, पार्टीमा संस्थागत निर्णय नहुने गरेको, विधि र पद्धतिविपरीत पार्टी सञ्चालन गरेको आरोप ओलीमाथि छ ।

दाहालले ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीमा अहिलेकै भद्रगोल रहिरहे पार्टी विघटनको दिशामा जाने चेतावनीसमेत दिएका छन् ।

सरकार गठन भएयताका साढे दुई वर्ष प्रधानमन्त्री ओली र उनी वरिपरिका केही व्यक्तिको तजबिजमा मात्रै सरकार चलिरहेको र त्यसले पार्टी र सरकार दुवैको बदनाम भइरहेको आक्षेप लगाइरहँदा बैठकमा ओलीलाई अफ्ठ्यारोमा पार्ने संकेत देखिएको हो ।

यता, प्रधानमन्त्री ओलीले आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रियरूपमा समेत प्रतिपक्षीहरू झेल्नुपरेको गुनासो गर्नुभयो । ओलीले पार्टीभित्रको गुटबन्दी र तिक्तताको खेल खेलेको बताउनुभयो ।

स्थायी समितिका सातवटा एजेन्डामा प्रधानमन्त्री ओलीका लागि ‘एमसीसी’लाई संसदबाटै पास गराउनुपर्ने बाध्यता छ भने नेपाल–दाहाल पक्ष त्यसलाई परिमार्जन नगरी अघि नबढाउने अडानमा रहँदा स्थायी समितिमै सदस्यहरुबीच मतभेद देखिने सम्भावना चुलिएको छ ।

गणितीय जोड–घटाउमा सभामुख अग्नि सापकोटाबाहेक ४४ जना स्थायी समिति सदस्यमध्ये अध्यक्ष ओलीको पक्षमा १३ जनामात्र छन् भने दाहालको पक्षमा १८ र नेता नेपालको पक्षमा १३ जना छन् ।

तर, एजेन्डाका विषयमा सार्थक छलफलभन्दा बैठकलाई विमति साँध्ने थलोका रुपमा लिइएको बताउनुहुन्छ, नेकपा नेता कर्णबहादुर थापा ।

६ महिनादेखि बस्न नसकेको स्थायी कमिटी बैठकको माग गर्न दाहाल–नेपाल पक्षधरका २० सदस्यले अध्यक्षहरूका नाममा पत्र नै लेखेपनि बैठक नबस्दा एक समूहले अर्काविरुद्ध हस्ताक्षर अभियानसमेत चलाउने स्थितिमा नपुगेका होइनन् ।

नेकपाभित्रको दुर्घटनाको सम्भावना टरेर बसेको स्थायी समिति बैठकले नेकपालाई फेरिपनि आरोप प्रतिआरोपमै गिजोल्ने छ वा सही कार्यदिशा प्रदान गर्नेछ, त्यो भने आगामी बैठकका छलफलले देखाउने छ ।

भिडियो हेर्नुहोस्