
बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ ।
बाँध असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिने जनाइएको छ ।
बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ ।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उहाँले बताउनुभयो ।
बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत जिलला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यो क्षेत्रका नागरिकलाई सतर्क भएर रहन आग्रह गरीएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवर बताउनुभयो ।
बाँध खोलेपश्चात् महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ ।
दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।
प्रतिक्रिया दिनुहोस्