१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


‘मौद्रिक नीतिमा विशेष प्याकेजको व्यवस्था गर्ने तयारी’


0
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, असार १० । नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्र सहजीकरण गर्ने तयारीसहित मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

कोभिड–१९ का कारण व्यापार–व्यवसाय प्रत्यक्ष प्रभावित भएको भन्दै अर्थतन्त्र पुनरुत्थानका लागि कम्तीमा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत बराबरको राहत प्याकेज ल्याउनुपर्ने माग हुँदै आएको छ ।

बजेट कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले निजी क्षेत्रका समस्या सहजीकरण गर्ने निजी क्षेत्रको अपेक्षा छ ।

कोभिड–१९ का कारण पर्यटन, रेमिट्यान्स, साना तथा ठूला हरेक उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको छ ।

प्रतिकूल अवस्थाका बाबजुद सरकारले आगामी वर्ष ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिद्धर हासिल हुने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

सो लक्ष्य प्राप्तीका लागि पनि राष्ट्र बैंकले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विशेष किसिमको मौद्रिक नीति ल्याउनुपर्ने हुन्छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित क्षेत्र पहिचान एवं प्राथमिकीकरण गरी मौद्रिक नीतिमा विशेष प्याकेजको व्यवस्था गरिने तयारी भइरहेको बताउनुहुन्छ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।

पर्यटन, होटल, रेमिट्यान्स तथा आयात निर्यात सुस्त हुँदा विदेशी मुद्रा सञ्चितिमा समेत प्रभाव पर्दै आएको छ ।

मौद्रिक नीतिमार्फत् वित्तीय साधनको उपलब्धता गराइ मुद्रा संकुचन हुन नदिने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले बजेटमार्फत् पुनर्कर्जा र सहुलियत कर्जा गरी झन्डै दुई खर्ब बराबरको प्याकेज ल्याएको छ । यसका लागि मौद्रिक नीतिमार्फत् ठोस व्यवस्थापन गर्ने तयारी राष्ट्र बैंकको छ ।

पुँजीबजारको माग सम्बोधनका साथै ‘अनलाइन पेमेन्ट’लाई व्यवस्थित बनाउने तयारी पनि राष्ट्र बैंकले गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल घरेलु तथा साना उद्योगका लागि लगानी बढाउनका लागि विशेष प्याकेज आवश्यक भएकोमा जोड दिनुहुन्छ ।

अहिलेको विशेष परिस्थितिमा आर्थिक क्रियाकलाप चलायमान बनाइ बजेटका लक्ष्य हासिल गर्न राष्ट्र बैंकले पनि विशेष किसिमकै मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्