
काठमाडौं, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकताका साथ नयाँ नक्शा पारित गरेकामा दलका नेताहरुलाई धन्यवाद दिनुभएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बुधबार साँझ शितल निवासमा डाकेर राष्ट्रपति भण्डारीले अभूतपूर्व एकताका देखाएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिलाई उधृत गर्दै भन्नुभयो, ‘सीमा अतिक्रमणको कुरा आयो । सरकारले नयाँ नक्शा जारी ग¥यो । संविधानको निशान छाप बदल्न संविधान संशोधन गर्नुप¥यो । त्यसमा तपाईंहरूले अभूतपूर्व एकता देखाउनु भयो । कोरोनाभाइरसको महामारीमा पनि विभिन्न दलका कार्यकर्ता प्रतिकार्यमा लाग्नुभएको छ । यी दुबै कामका लागि तपाईंहरूलाई धेरै धन्यवाद । आगामी दिनमा पनि यस्तै राष्ट्रिय एकता होस् ।’
शितल निवासमा पुगेका नेताहरु भने राष्ट्रपति भण्डारीबाट धन्यवाद थापेर फर्किएका थिए । नेताहरु कसैले पनि मन्तव्य राखेका थिएनन् भने सामान्य चियापान गरेर फर्किएका थिए ।
नेताहरु करिब एक घण्टा राष्ट्रपति कार्यालय शितल निवासमा बसेर फर्किएको राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्