
प्रदीप पौडेल (इमेज)
पोखरा, असार १० । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा ‘आइसोलेसन’ वार्डको अभाव हुन थालेको छ ।
प्रदेशमा ७०० भन्दा बढी कोरोना संक्रमित भएपछि उनीहरुलाई राख्न ११ जिल्लामा १,१०० आइसोलेसन वार्डहरु तयार गरिएको छ ।
पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा तनहुँ, स्याङ्जा, बागलुङ र नवलपुरमा तत्काल आइसोलेसन वार्डहरुको संख्या दोब्बर बनाउने तयारी गण्डकी प्रदेशले गरेको छ ।
तनहुँमा हाल ११०, स्याङ्जामा १२५, बागलुङमा १६०, पर्वतमा १०० र नवलपुरमा १५० वटा आइसोलेसन वार्डहरु तयारी अवस्थामा रहेपनि संक्रमित दर ती जिल्लामा बढ्दै गएपछि वार्ड संख्या दोब्बर गर्नुपर्ने अवस्था आएको छ ।
मुलुकमा ‘लकडाउन’ सुरु भएयता भारतसहित विदेशबाट फर्किनेहरुमध्ये गण्डकी प्रदेशमा मात्र झन्डै आठ हजारको हाराहारीमा छ । तीमध्ये अधिकांश भारतबाट आउनेहरु हुन् ।
भारतीय सीमानाका खुला भएकोले रातिको समयमा नाका छलेर अझैपनि दैनिक ५० देखि १०० जना मानिस भित्रिएका कारण संक्रमितको दर बढ्दै गएको हो ।
प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजारसम्म पुग्नसक्ने बताउनुभयो ।
कोरोनालक्षित गरी गण्डकीमा हालसम्म १३ वटा ‘आइसीयू’ वार्ड छुट्ट्याइएको छ । ती कास्की, बागलुङ र गोरखामा मात्र सीमित छन् ।
कास्कीमा आठवटा, बागलुङमा तीन र गोरखामा दुईवटा रहेका हुन् । हालसम्म एकजनालाईमात्रै आइसीयूमा राखिएको छ ।
कोरोना संक्रमित ती व्यक्ति पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयू वार्डमा छन् । बाँकी संक्रमितलाई भने सम्बन्धित जिल्लाकै आइसोलेसन वार्डमा राखिएको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा र बिरामीको स्वास्थ्य अवस्था हेरी आइसीयूमा राख्नुपर्ने अवस्था आए तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्र, बेलचौतारामा थप आइसीयू वार्ड खोलिने तयारी रहेको डा. शर्माको भनाइ छ ।
तनहुँमा अहिलेसम्म ८९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये सातजना निको भएर घर फर्किसकेका छन् ।
संक्रमितको संख्या ह्वात्तै वृद्धि हुँदा जिल्लाका संक्रमित ‘क्वारेन्टिन’मै बस्नुपर्ने बाध्यता आइलागेको हो ।
गण्डकी प्रदेशमा आइसोलेसन व्यवस्थापनमा समस्या देखिएकाले आइसोलेसनको संख्या बढाउनुपर्ने देखिन्छ ।
अहिले गण्डकी प्रदेशमा संक्रमित बढेसँगै निको हुनेको संख्यामा पनि वृद्धि भएको छ ।
डा. शर्माले आइसोलेसन वार्ड र क्वारेन्टिनमा देखिएका कमजोरी सुधारेर लैजाने गरी काम भइरहेको बताउनुभयो ।
क्वारेन्टिन र आइसोलेसन वार्डहरुका लागि आवश्यक सामग्री प्रदेश सरकारले दिन्छ भने अन्य तयारी सम्बन्धित पालिकाले गर्नुपर्ने हुन्छ ।
गण्डकीमा हालसम्म ७०० बढी संक्रमितमध्ये ५५ जना कोरोना संक्रमित निको भएका छन् भने एकजनाको मृत्यु भएको छ । यस्तै, ४६४ जना आइसोलेसन वार्डमा छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा ‘पीसीआर’ परीक्षणको व्यवस्थापन गरिएको छ । हालसम्म आठ हजार ७५१ जनाको नमुना संकलन गरिएकोमा नतिजा आउन एक हजार ३२८ जनाको बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्