
बिराज रोस्यारा (इमेज)
कैलाली, असार १० । कैलालीमा बुधबार ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ४६० पुगेको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा कैलालीका १० महिला र ४७ जना पुरुषमा संक्रमण देखिएको हो ।
नयाँ थपिएका ५७ जनामा ३२ जना गोदावरी नगरपालिकाका छन् । २५ जना लम्कीचुहा नगरपालिकाका छन् ।
जिल्लामा सबैभन्दा बढी प्रदेशको स्थायी राजधानी रहेको गोदावरी नगरपालिकामा ८४ पुरुष र २९ महिला गरी ११३ जनामा कोरोना पुष्टि भएको छ ।
लम्कीचुहा नगरपालिकामा ८० पुरुष र ११ महिला गरी ९१ जना र प्रदेशको अस्थायी राजधानी धनगढीमा ५८ पुरुष र २३ महिला गरी ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।
यस्तै, गौरीगंगा नगरपालिकामा ४५ पुरुष र पाँच महिला गरी ५०, घोडाघोडी नगरपालिकामा २९ पुरुष र चार महिला गरी ३३, बर्दगोरीया गाउँपालिकामा १९ पुरुष र छ महिला गरी २५, टीकापुर नगरपालिकामा २६ पुरुष र एक महिला गरी २७ जना, जानकी गाउँपालिकामा १२ पुरुष र छ महिला गरी १८ जना, भजनी नगरपालिकामा पाँच पुरुष र दुई महिला गरी सातजनामा संक्रमण पुष्टि भएको छ ।
कैलारी गाउँपालिकामा चार पुरुष र एक महिला गरी पाँचजना, चुरे गाउँपालिकामा छ पुरुष र मोहन्याल गाउँपालिकामा तीन पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्