
काठमाडौं, असार १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिबारे शुरुमै सम्बोधन गर्दै हुनुहुन्छ ।

बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका काममाथि छलफल हुने जनाइएको छ । सबैको चासो अमेरिकी सहयोग परियोजना एमसीसीबारे हुनेछ ।
दशकौंअघि प्रक्रिया शुरु भएर कार्यान्वयनको चरणमा पुगिसकेको एमसीसी पनि बैठकको एजेण्डा रहेको छ । सदनबाट पारित हुनुपर्ने शर्तका कारण एमसीसी प्रतिनिधि सभामा दर्ता भएर यत्तिकै थन्किएको छ ।
असार १६ गतेभित्र टुंगो लगाउनुपर्ने समय सीमा भएको एमसीसीलाई सदनमा छलफल नै चल्न नदिने गरी सभामुखले बैठक नै १७ गते सम्मलाई स्थगित गरेको विषय पनि बैठकमा उठ्ने जनाइएको छ ।
यसैगरी सीमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका कामलगायतका विषयमा पनि छलफल हुने बैठकको एजेण्डा छ । पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुनेछ ।
दुई अध्यक्षबीच समति नबनेकै कारण लामो समयपछि बस्न लागेको बैठकमा अध्यक्षले राजनीतिक तथा सांगठनिक प्रतिवेदन नै पेश नगर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्