
दिपेन्द्र अधिकारी र लक्ष्मणमान डंगोल (ईमेल)
काठमाडौं, असार ७ । आषाढ कृष्ण औँसीका दिन सोमबार खण्डग्रास सूर्यग्रहण लाग्यो । सन् २०२० कै पहिलो ग्रहण बिहान १० बजेर ५० मिनेट जाँदा सुरु भई दिउँसो २ बजेर २३ मिनेटमा सकिंदा नेपालमा तीन घण्टा ३३ मिनेटसम्म देखिएको थियो ।
आइतबार लागेको सूर्यग्रहण बलयाकार सूर्यग्रहण भएपनि नेपालबाट भने खण्डग्रास सूर्यग्रहण मात्र देखिएको थियो ।
सूर्यग्रहणको पथ नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नजिक रहेकोले त्यहाँबाट ९३ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको र काठमाडौंबाट ८२ प्रतिशतसम्म सूर्य ढाकेको देखिएको थियो ।
कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देखिएको थियो भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिएको हो ।
नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको थियो ।
विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले कीर्तिपुरमा टेलिस्कोपको सहायताले सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गरेको थियो । सूर्य, चन्द्रमा र पृथ्वी सिधा रेखामा हुँदा पृथ्वीमा चन्द्रमाको छायाँ पर्ने भएकाले सूर्यग्रहण लाग्ने समितिले जनाएको छ ।
सूर्य ग्रहणलाई संसारभरबाट २ प्रकारको स्वरुपमा देखिएको थियो ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।
सूर्य ग्रहणले मानवीय असर देखिने तथ्य अहिलेसम्म नआएको विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित कार्यकारी निर्देशक तथा खगोलविद् डा. सनतकुमार शर्माले बताए ।
पृथ्वीको एक स्थानमा लागेको खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पूनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।
प्रतिक्रिया दिनुहोस्