२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


चितवन र नवलपुरमा हावाहुरीको वितण्डा


0
Shares

चितवन, जेठ ८ । चितवन र पूर्वी नवलपुरमा हावाहुरीसहित आएको असिनापानीले ठूलो क्षति पुर्‍याएको छ । मंगलबार राति आएको हावाहुरीले करोडौंको धनमालमा क्षति पुगेको हो । 

चितवनमा धानखेतीमा मात्र करोडौँको क्षति पुर्‍याएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ६ मा लगाइएको धान खेतीमा असिनाले क्षति पुर्‍याएको हो । 

धान पाक्ने बेलामा आएको असिनासहितको हावाहुरीले क्षति भएको स्थानीय किसानहरुले बताएका छन् । चैतमा रोपेको धान जेठ अन्तिमतिर काट्ने गरिन्छ । 

व्यवसायिक रुपमा धान खेती हुँदै आएको त्यस क्षेत्रमा करिब दुई सय बिगाहा क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको रत्ननगर नगरपालिका वडा ५ का वडा अध्यक्ष कृष्ण महतोले जानकारी दिए । 

धान खेती गर्दा प्रतिकठ्ठा करिब ४० हजार खर्च हुने र करिब एक लाख रुपैयाँ बराबरको आम्दानी हुने गर्दथ्यो । तर यस पटक असिना पानीले धान नष्ट गरेकाले लागत नै डुबेको स्थानीयले बताए । बढी क्षति जेठ २ को असिनाले पुर्‍याएको हो । 

यसैगरी, पूर्वीनवलपरासीमा मंगलवार राति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

बढी असर देवचुली नगरपालिकामा परेको छ । देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिइन् । कतिपय घर बस्नै नमिल्ने गरी भत्किएको उनले बताइन् । 

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो हावाले उडाएको छ । 

हुरीको असर देवचुली नगरपालिकाको  ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।