२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढुम्बा ताल (भिडियो)


0
Shares

डम्बर बुढा मगर

मुस्ताङ, जेठ ५ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङलाई कला, संस्कृति र प्रकृतिले सुन्दर बनाएको छ । यहाँका कयौं धार्मिक तथा पर्यटकीय क्षेत्र निकै आकर्षक छन् ।

तीमध्येको एक हो– ढुम्बा ताल । यो तालको मनमोहक दृश्यले जोकोहीलाई पनि लठ्ठ पार्ने गर्छ ।

मुस्ताङको ढुम्बा ताल घरोरपझोङ गाउँपालिका वडा नम्बर ५ अन्तर्गत साम्ले गाउँको शिर र निलगिरी हिमालको काखमा अवस्थित छ । समुद्र सतहदेखि करिब २ हजार ८ सय ६२ मिटरको उचाइमा रहेको यो ताल करिब १ सय ३० मिटर चौडा, १ सय ६० मिटर लामो र ८ मिटर गहिरो छ । जसलाई फन्को मार्न १० देखि १५ मिनेटको समय लाग्छ ।

मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि ठिनी गाउँ हुँदै पुग्न सकिने ढुम्बा तालमा १ घण्टाको पैदल यात्रा गर्नुपर्छ या गाडीमा आधा घण्टाको यात्रा गर्नुपर्छ । निलगिरी हिमालजस्तै स्वच्छ निलो रङमा देखिने यो ताल हेर्न दैनिक १ सयदेखि ४ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय रुपा गुरुङ बताउँछिन् ।

पर्यटकीय गन्तव्यको ठूलो सम्भावना रहेको सो तालसम्म पुग्ने सडकको अवस्था थप स्तरोन्नति गर्नुपर्ने देखिन्छ । आफैँमा सुन्दर बनेर बसेको ढुम्बातालबाट वरपर लहरै उभिएका मनमोहक हिमालको दृश्यले कसलाई पो मोहनी नलगाउला र ? धार्मिक रुपमा पनि महत्वपूर्ण मानिने यस तालको संरक्षण र थप सौन्दर्यीकरणको लागि डीपीआर तयार गरेको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङको भनाइ छ ।

तालको मोहनी रुप भए पनि प्रचारप्रसारको अभावमा यसको सौन्दर्य अवलोकन गर्नबाट धेरै वञ्चित बनेका छन् । प्रकृतिको अनुपम उपहारजस्तै रहेको ढुम्बा तालको व्यवस्थापनमा अझ बढी ध्यान दिने हो भने पर्यटन व्यवसाय फस्टाउन सकिने निश्चित छ । 

भिडियोमा हेर्नुस् ढुम्बा तालको सौन्दर्य