२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


सिमरा ‘सेज’मा उद्योग स्थापनाका लागि मनसाय आह्वान


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, जेठ ४ । दशकको प्रयासपछि बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि मनसाय आह्वान गरिएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले सेजको ब्लक ‘ए’ निर्माण सम्पन्न भएपछि इच्छुक उद्योगीलाई उद्योग स्थापनाका लागि मनसाय आह्वान गरेको हो ।

सेजमा रहेका पाँचओटा ब्लकमध्ये ब्लक ‘ए’को निर्माण पूरा भएको छ । ‘ए’ ब्लकमा रहेको ३४३ विगाहामध्ये १६५ विगाहा क्षेत्रमा गार्मेन्ट प्रशोधन क्षेत्र बनाइएको छ ।

प्राधिकरणले उद्योग स्थापनाका लागि सूचना गरेलगत्तै साना–ठूला उद्योगीहरु अवलोकनका लागि दैनिकरुपमा आउने गरेको प्राधिकरणका इन्जिनियर दिनेश न्यौपानेले बताए ।

प्रथमपटक भू–बाहल अवधि बढीमा ३० वर्ष रहेपनि पछि थप गर्न मिल्ने र भाडा प्रतिमहिना प्रतिवर्गमिटर २० रुपैयाँ तोकिएको छ ।

‘ए’ ब्लकमा ६८ ओटा प्लट तीन हजारदेखि पाँच हजार स्क्वायर मिटरका रहेका छन् । यहाँ स्थापना हुने गार्मेन्ट उद्योगले ६० प्रतिशत वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ ।

अमेरिकी सरकारले नेपालमा उत्पादित गार्मेन्टहरुलाई १० वर्ष भन्सार छुट दिने घोषणा गरेका कारण सेजमा स्वदेशीमात्र नभइ विदेशी लगानीकर्ताहरुकोसमेत उपस्थिति हुने अनुमान प्राधिकरणको छ ।

सेज स्थापनासँगै यस क्षेत्रले आर्थिक विकासमा फड्को मार्ने विश्वास बारा–पर्साका उद्योगी–व्यवसायीहरुमा छ ।