
भैरहवा, जेठ ३ । लुम्बिनीमा बुद्ध जन्मस्थल लुम्बिनीका विकासका अवधारणकर्ता एवं संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्तको सालिक स्थापना गरिएको छ ।
प्रदेश नम्बर–५ का पर्यटनमन्त्री लीला गिरीले शुक्रबार एक कार्यक्रमकाबीच सालिक अनावरण गरे ।
सो अवसरमा उ थान्तका नाती थानमिन्त उ, राष्ट्रियसभा सदस्य दुर्गा उपाध्याय, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, प्रदेशसभा सदस्य फकरुद्दिन खाँन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. हृृदयरत्न बज्राचार्यलगायत उपस्थित थिए ।
सन् १९६१ देखि १९७१ सम्म संयुक्त राष्ट्रसंघका महासचिव रहेका उ थान्त सन् १९६७ मा आफैं लुम्बिनी भ्रमणमा आएका थिए । उ थान्तको सोही भ्रमणलाई लुम्बिनी विकासको ‘कोसेढुंगा’ मानिन्छ ।
उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए ।
सन् १९७२ मा जापानी वास्तुविद् प्राध्यापक केन्जो टांगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिएका थिए ।
टांगेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजनाअनुसार नै लुम्बिनी विकासको आरम्भ भएको हो ।
प्रतिक्रिया दिनुहोस्