Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश–२ सरकार मिडिया विधेयकमा लचिलो


0
Shares

जनकपुर, जेठ ३ । प्रदेश नम्बर–२ सरकारले प्रदेश सन्चार सम्बन्धमा व्यवस्था गर्न ल्याएको विधेयकमा भएको कठोर जरिवानाको व्यवस्था फिर्ता लिएको छ ।

संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा देशैभरका पत्रकार आन्दोलनमा उत्रिइरहेका समयमा प्रदेश–२ सरकारले पनि यस्तै विधेयक ल्याएपछि आलोचना भएको थियो ।

प्रदेश–२ सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई एक करोड रुपैयाँसम्म जरिवाना गर्ने भन्ने वाक्यांश प्राविधिक त्रुटिवस परेको जनाएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सन्चारकर्मीहरुको थप परामर्शबाट विधेयक संशोधन र परिमार्जन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार अत्यधिक सकारात्मक र संवेदनशील रहँदै आएको बताउँदै विज्ञप्तिमा प्रेस स्वतन्त्रताको बहुआयामिक पक्षमाथि आघात पुग्ने र सन्चारकर्मीहरुको जनउत्तरदायी कार्य निषेध गर्ने कुनैपनि प्रयत्न वा नियत प्रदेश सरकारको नरहेको उल्लेख गरिएको छ ।

बिहीबार प्रदेशसभामा दर्ता भएको सन्चारसम्बन्धी विधेयकमा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखन्डता र राष्ट्रियतामा आँच आउने विषय प्रकाशन तथा प्रसारण गरेमा ५० लाखदेखि एक करोडसम्म जरिवाना गर्ने व्यवस्था थियो । जसको चौतर्फी विरोध भएको छ ।