Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


चैते धान रोप्न खोई सिंचाई सुविधा ? (भिडियो)


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, बैशाख १४ । धनकुटाका किसान चैते धान लगाउन व्यस्त छन् । तर, कामदार, सिंचाई सुबिधा र कृषि कार्यालयको प्राथमिकतामा नपर्दा बर्षेनी चैते धानको उत्पादन भने घट्दो छ ।
धनकुटाको भेडेटार–३ सिम्सुवाका कृषकलाई यतिबेला चैते धान रोप्न भ्याई नभ्याई छ ।

खोला नजिकै खेत भएका र आफ्नै घरमा काम गर्न सक्ने ब्यक्ति प्रशस्त भएका परिवारलाई चैते धान लगाउन भ्याई नभ्याई भएपनि खेतमा सिंचाई सुबिधा तथा काम गर्न सक्ने ब्यक्ति नभएका परिवारको खेत भने बाझिने क्रम बढ्दै गएको छ ।

चैते धान लगाउंदै गरेका परिवार पनि निकै कष्टले रोपिएको वताउंछन् । पानी, कामदार र प्रबिधिको अभावका कारण चैते धान लगाउन निकै समस्या पर्ने गरेको सिम्सुवाका कृषक खेल बहादुर लिम्वु बताउँछन् ।

पानी, कामदार, प्रबिधिको अभाव र कृषि बिकास कार्यालयको प्राथमिकतामा नपर्दा धनकुटामा चैते धान र उत्पादन क्षेत्र बर्षेनी घट्दै गएको छ ।

आर्थिक बर्ष २०६८/६९ मा १५ सय हेक्टरवाट ३५ सय मेट्रिक टन चैते धान उत्पादन भएकोमा २०६९/७० मा उत्पादन क्षेत्र घटेर १४ सय ५० हेक्टर हुंदा उत्पादन भने ३४ सय ८० मेट्रिक टनमा झरेको थियो ।

त्यस्तै २०७०/७१ मा उत्पादन क्षेत्र १४ सयमा सिमित हुंदा उत्पादन २८ सय ३५ मेट्रिक टनमा झरेको थियो । यो बर्ष पनि खडेरीका कारण उत्पादन र उत्पादन क्षेत्र अझ घट्ने तथा धान कृषकलाई सल्लाह सुझाव दिनेदेखि बाहेक अन्य कुनै कार्यक्रम नभएको जिल्ला कृषि बिकास कार्यलय धनकुटाका वालि संरक्षण अधिकृत छबिलाल घिमिरे बताउँछन् ।

यता बर्षौ अघिदेखि चैते धान उत्पादन गर्दै आएका कृषक भने कृषि योग्य जमिनमा सिंचाई सुबिधा, उन्नत बिउबिजन, रोग किराको प्रकोप नियन्त्रण र उपयुक्त प्रबिधि भित्राउन सके जिवन निर्बाह खेतिवाट माथि उठ्न सकिने बताउंछन् ।