२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


यसरी हुँदैछ रानीपोखरी पुनःनिर्माणको काम (भिडियो)


91
Shares

मीरा बस्नेत र राजेन्द्र नापित (इमेज)

काठमाडौं, वैशाख ३१ । विनाशकारी भूकम्प गएको चार वर्षसम्म अलपत्र अवस्थामा रहेको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको कामको जिम्मा स्थानीयले लिएका छन् ।

पुरानै शैली र स्वरुपमा गरिने पुनःनिर्माणको काममा अहिले भक्तपुरका महिलाहरुको समूह खटिएको छ ।

लामो विवादपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले उपभोक्ता समिति बनाएर पुनःनिर्माणको जिम्मा स्थानीयलाई दिएपछि भक्तपुरको भाजुपोखरी जीर्णोद्धार गरेको समूहलाई रानीपोखरीमा झिकाइएको थियो ।

गत फागुन २० गतेदेखि भक्तपुरका महिलाहरुको समूहले रानीपोखरीमा काम गरिरहेका छन् ।

घरायसी औजारहरुको प्रयोग गरेर काम गरिरहेका यिनीहरुले पहिलो चरणमा रानीपोखरीलाई पूरै ढाकेको झार उखेल्ने काम गरे ।

दुई महिनाको यो अवधिमा यी महिलाहरुले झार उखेल्ने र जमिन सम्याउने काम गरेका छन् ।

अहिले उनीहरु पुरानो पर्खालको जग पत्ता लगाउने काममा लागेका छन् ।

पोखरीको पर्खाल निर्माणका लागि बालुवा, सुर्की र चुना मिसाइएको मसला प्रयोग गरिएको छ ।

यस्तै, पानी अड्याउन पनि पोखरीको भुइँमा कालीमाटी ओछ्याउने र त्यसमाथि इँटा राखिने भएको छ । कालीमाटी पनि भक्तपुरबाटै ल्याइएको छ ।

भक्तपुरको ऐतिहासिक भाजुपोखरी जीर्णोद्धार गरेका महिलाहरु रानीपोखरीलाई पनि पुरानै शैलीमा पुनःनिर्माण गर्न प्रतिबद्ध छन् ।

तर, भक्तपुरमा काम गर्दा केहीपनि समस्या नआएको अनुभव सुनाउँदै यिनीहरुले रानीपोखरीमा भने आवश्यक सामग्रीहरु भनेको बेलामा नपाउने समस्या रहेको बताएका छन् ।

पुनःनिर्माणमा जुटेका महिलाहरुको कामको गति हेर्दा रानीपोखरीलाई पानी अडिने अवस्थामा ल्याउनमात्रै अझै एक वर्ष लाग्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्