३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


बजेट माग्न प्रभावशाली मन्त्री र सांसदको लर्को


0
Shares

काठमाडौं, वैशाख २१ । आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यले तीब्रता पाइरहेका बेला आफ्नो क्षेत्रमा बढी बजेट माग गर्न यतिबेला अर्थ मन्त्रालयमा सरकारका प्रभावशाली मन्त्री र सांसददेखि कार्यकर्तासम्मको लर्को लाग्न थालेको छ ।

सत्ता र शक्तिको भरमा आफूअनुकुलका कार्यक्रम समावेश गर्न अर्थमन्त्री र बजेट निर्माणमा सहभागी टोलीलाई दबाब दिने पुरानै चलन यसपटक पनि दोहोरिएको हो ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार आफूअनुकुलका कार्यक्रम बजेटमा समावेश गर्न बढी धाउनेमा सरकारका शक्तिशाली मन्त्री, सरकारमा सहभागी विभिन्न राजनीतिक दलका सभासद र कार्यकर्ता छन् । यो भीड पछिल्ला दुई सातायता निकै बाक्लिएको छ ।

आगामी वर्षको बजेट विनियोजन कार्यमा अर्थमन्त्रालयको टिम लागिरहेको बेलामा सोमबार मात्रै राप्रपा नेपालका अध्यक्षसमेत रहेका परराष्ट्रमन्त्री कमल थापा अर्थ मन्त्रालय पुगे । उनी अर्थमन्त्री विष्णु पौडेलसँग केहीबेरको भलाकुसरीपछि त्यहाँबाट बाहिरिए ।

रक्षा मन्त्री भीम रावल पनि सोमबार नै अर्थ मन्त्रालय पुगे । उनी केहीबेर बसेर बाहिरिएका थिए । गृहमन्त्री शक्ति बस्नेत पनि सोमबार अर्थ मन्त्रालय पुगेका थिए ।

आफूअनुकुलका काममा बढी बजेट विनियोजनको दबाब दिन यस्ता गतिविधि पछिल्ला दिनमा दिनहुँ हुने गरेको छ । –राजधानी दैनिकबाट