Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सालमुनि हाइड्रोपावर परियोजनाबाट विद्युत् उत्पादन सुरु


0
Shares

डोटी, वैशाख ३१ । जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनि हाइड्रोपावर परियोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ ।

करीब रु एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो । 

परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट रहेको पावरहाउसका टनेल इञ्चार्ज मीन पोख्रेलले बताए ।

उनले भने, ‘विद्युतको सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष्यबमोजिम तोकिएकै समयमा विद्युत् उत्पादन गरेर देखायौँ ।’

सुदूरपश्चिमको प्रसिद्ध देवता सालमुनिको नामबाट निर्माण गरिएको उक्त परियोजनाको ठेक्का सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्ट्रक्सनले लिएका हुन् । सो विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । 

ती दुवै कम्पनी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ३० वर्षसम्म यहाँको विद्युत् बिक्रीबाट आएको रकम निर्माण कम्पनीले नै लिने भएको छ । विपीनगरमा विद्युत् निर्माण भएर विद्युत् उत्पादन भएपछि यहाँका बासिन्दा खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताए ।

उनले भने, ‘बत्ती नभएर अन्धकार भएको हाम्रो ठाउँमा अब बिजुली बल्यो, हामी त्यसैमा खुशी छौँ ।’

उक्त पावर हाउसबाट उत्पादन हुने विद्युत् वितरणपछि डोटी जिल्ला विद्युत् भार कटौतीमुक्त हुनेमा स्थानीय बासिन्दा आशावादी छन् । (रासस)

Skip This