१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पूर्वी नेपालमा ठूला होटल निर्माण गर्ने क्रम बढ्दो (भिडियो)


0
Shares

ध्रुव भट्टराई-

विराटनगर, वैशाख २२ । पूर्वमा होटल व्यवसायमा लगानी गर्ने क्रम बढेको छ । पूर्वी नेपालमा पाँचतारे होटलको निर्माणले समेत गति पाएको छ । खासगरी विराटनगरदेखि हिले करिडोरसम्म होटल निर्माणको क्रमले तीब्रता पाएको हो ।

मेची र कोशीमा मात्रै नयाँ तारे होटलका लागि पाँच अर्ब लगानी थपिएको छ ।

विराटनगरदेखि हिले करिडोरसम्म होटल निर्माणको क्रमले तीब्रता पाएको हो । होटल व्यवसायी महासंघ नेपालका अनुसार मेची–कोशीमा अहिले दशवटा तारे होटल निर्माणाधीन छन् । विद्युतको संकट र मजदुर अभावका कारण उद्योग सञ्चालन गर्न कठिनाई हुन थालेपछि ठूला औद्योगिक घरानाहरु होटल व्यवसायतर्फ आकर्षित भएका हुन् । सेन्चुरी, गोर्खा डिर्पाटमेन्ट स्टोर्स, गोल्छा अर्गनाइजेसन लगायतले पूर्वी जिल्लाहरुमा अहिले होटलमा लगानी गरिरहेको व्यवसायी मोती दुगड बताउँछन् ।

कोशी कोरिडोर विराटनगरदेखि हिलेसम्म निर्माणाधीन तारे होटेलमा पन्ध्र करोडदेखि एक अर्बसम्मको लगानी रहेको छ । होटल व्यवसायी महासंघका अनुसार पूर्वाञ्चलमा हाल साना–ठूला गरी ५ सयभन्दा बढी होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी गर्न सबै क्षेत्रका मानिस आकर्षित भएसँगै बनेका तारे होटलले पूर्वाञ्चलको मुहार फेरिने अपेक्षा गरिएको होटल व्यवसायी महासंघ नेपालका सदस्य रविन गौतम बताउँछन् ।

पुराना होटलहरुमा ५ अर्ब र चालू हालतका १५ अर्ब गरी कूल लगानी २० अर्ब रहेको छ । मुख्यतः पूर्वी नेपालको नाका विराटनगर, कांकडभिट्टा लगायतका स्थानमा तारे होटलको निर्माणले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने पर्यटन व्यवसायी भविश श्रेष्ठ बताउँछन् ।

मेची र कोशी अञ्चलका पूर्वी पहाडी जिल्लाहरु पर्यटकीय क्षेत्रहरु हुन् । ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभालगायतका जिल्लामा पनि नयाँ होटल निर्माण हुने क्रम थपिएको छ । पुराना होटलले पनि स्तारोन्नति भईरहेकाले पूर्वको पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पुग्नेमा दुई मत नहोला ।

(भिडियो हेर्नुहोस्)